जैविक विविधता संरक्षणमा जोड



शिवु खनाल । दाङ ।

वन क्षेत्रमा पाइने जैविक विविधता तथा वनस्पतिको संरक्षण गर्दै यसको सही सदुपयोग गर्न आवश्यक रहेकोमा जोड दिइएको छ ।

सरोकारवालाहरूले जैविक विविधताअन्तर्गत वन क्षेत्रमा पाइने जडिबुटीको संरक्षण तथा सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याइएका हुन् । वन क्षेत्रमा उपलब्ध वनस्पति अर्थात् जडिबुटीको सही सदुपयोगले स्थानीयको जीविकोपार्जनमा सहजता ल्याउने डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले बताए ।

बहुमूल्य वनस्पति जडिबुटीको अवैध संकलन हुने गरेको साथै सही सदुपयोग नहुँदा स्थानीय उपभोक्ता लाभ लिनबाट वञ्चित रहेको बताउँदै उनले जैविक विविधताको संरक्षणमा क्रियाशील सामुदायिक वन उपभोक्ता समूह थप जिम्मेवार बन्दै विविधताको दिगो संरक्षण र सदुपयोग गर्ने कार्ययोजना बनाएर कार्यान्वयनमा लाग्नुपर्ने बताएका थिए । सो कार्यले स्थानीय समुदाय तथा उपभोक्ताको जीविकोपार्जनमा सहयोग पुग्ने उनको भनाइ छ ।

वाग्लेले ग्रिनपार्कको अवलोकन गर्दै जैविक विविधताको संरक्षण र सदुपयोगले उपभोक्ताको जीविकोपार्जनसँगै आत्मनिर्भर बन्नमा टेवा पुग्ने बताएका हुन् । जैविक वनस्पति जडिबुटीको सही सदुपयोग हुन नसक्दा यसबाट हुने लाभ वा फाइदा गुमाइरहनुपरेको उनको भनाइ छ । डिभिजन वन कार्यालय नवलपरासी पश्चिमबाट सरूवा भई हालै देउखुरी लमही आएका वाग्लेले अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रिनपार्कको बिहीबार स्थलगत अवलोकन तथा निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा उनले नेपालको वन क्षेत्रअन्तर्गत तराई, पहाड र हिमालमा गरिने क्रियाकलाप तथा नीतिगत व्यवस्था एकै किसिमको रहेकाले सहज किसिमले काम गर्न पनि समस्या रहेको गुनासो गरे । तराई क्षेत्रको वन व्यवस्थापन र सदुपयोग तथा पहाड र हिमाली क्षेत्रको वनको व्यवस्थापन तथा सदुपयोगमा फरक–फरक नीतिगत व्यवस्था हुन आवश्यक रहेको पनि उनको भनाइ छ ।

भूगोल र भू–बनावटका आधारमा फरक–फरक नीतिगत व्यवस्था साथै संरक्षण र सदुपयोग प्रणाली पनि छुट्टै भएमा सम्बन्धित क्षेत्रका उपभोक्ताले बढीभन्दा बढी फाइदा लिनसक्ने उनले बताए । वन क्षेत्रमा बहुमूल्य वनस्पति र जडिबुटी पाइने भए पनि समुदायले त्यसबाट लाभ पाउन नसकिरहेको जनाए ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल, देउखुरी लमहीका सहायक वन अधिकृत रामगोपाल चौधरी, सब–डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत विश्वजंग विकलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार