नेपालगन्जकी अनुजा सर्वोत्कृष्ट लघु उद्यमी घोषित



बाँके ।

नेपालगन्जकी सर्वोत्कृष्ट लघु उद्यमी अनुजा सिंह राठौंरलाई ५० हजार रुपैयाँ राशीको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशबाट यसवर्षको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ नेपालगन्जकी उद्यमी राठौंरलाई प्रदान गरिएको हो ।

निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट कर्जा लिएर २०७५ सालमा ‘अनुजा डेरी उद्योग’ सञ्चालन गरेकी उनले अहिले पाँच जनालाई रोजगारी दिइरहेकी छिन् । ‘नेपालका लघुवित्तका पिता’ भनेर चिनिने निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका संस्थापक डा. हरिहरदेव पन्तको नवौं स्मृति दिवसको अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेशभरी रहेका करिब १ लाख महिला लघु उद्यमीलाई पछाडी पार्दै नेपालगन्ज, फुलटेक्रा निवासी राठौंरले नगद ५० हजारसहित प्रमाणपत्र हात पारेकी हुन् । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धक मिनबहादुर हमालले मुल्यांकनका विभिन्न आधारबाट राठौंर लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघु उद्यमी घोषित भएको बताए ।

एक समारोहकाबीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । नगर प्रमुख बिष्टले पुरस्कार हस्तान्तरण गर्दै निर्धन उत्थान जस्ता धेरै लघुवित्तले महिलाहरुको जीवनस्तर माथी उठाएको बताए । उनले भने, ‘केही लघुवित्तले गरेका गलत कामको दोष सबै माथी थोपार्नु उचित हुँदैन ।’

पुरस्कार ग्रहण गरेपछि राठौंरले पुरस्कारले आफुलाई काम गर्न थप उर्जा मिलेको बताइन् । ‘सानो पुँजी लगाएर पनि उद्यमी बन्न सकिदोँ रहेछ, यो पुरस्कारले मलाई काम गर्न थप उर्जा दिएको छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २०८१ भदौ २२ गते शनिबार