चौडा बन्दै बुटवल–गोरुसिङ्गे सडक : दसैँपछि काम थाल्ने तयारी



तत्कालीन राजा महेन्द्रको पालामा बनेको बुटवल–गोरुसिङ्गे सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको छ । ५० किलोमिटर लम्बाइको सडक खण्डको पहिलो चरणको काम दसैँपछि ठेकेदार कम्पनीले सुरु गर्नेगरी तयारी गरेको हो ।
बुटवल ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तार अन्तर्गत भौतिक पूर्वाधारको काम दसैँपछि मात्र सुरु गर्ने तयारी गरिएको छ । ५० किलोमिटर लम्बाइको सडक खण्डको पहिलो चरणको काम दसैँपछि ठेकेदार कम्पनीले सुरु गर्ने तयारी गरेको हो ।

ठेकेदार कम्पनीले अहिले सर्वे, उपकरण राख्ने घरको खोजी लगायतका काम गरिरहेको बुटवल– गोरुसिङ्गे सडक आयोजना, बुटवलका प्रमुख होमबहादुर एसीले जानकारी दिए । उनका अनुसार सडक दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम सुरु गर्न लागिएको हो ।

एसीले दिएको जानकारी अनुसार पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् भने १४९ वटा कल्भर्ट र ६ वटा अन्डर पास/ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुनेछ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा ठेक्का पाएको छ ।

ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने सम्झौतामा उल्लेख छ । विश्व बैंकले बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने सम्झौता गरेको छ । दोस्रो चरणको ठेक्का र बुटवलको तिनाउमा सिग्नेचर पुल पनि यही रकममध्येबाट निर्माण हुने बुटवल– गोरुसिङ्गे सडक आयोजनाले जनाएको छ ।

बुटवल–गोरुसिङ्गे सडकको जङ्गलमा रहेका ७ हजार रूख काट्न वन विभागसँग अनुमति समेत मागिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर विभागले सात हजार रूख काट्न लाग्ने लागत, एक रूख काटे बराबर १० बिरुवा रोप्ने र ५ वर्ष संरक्षण गर्न लाग्ने खर्च पनि सडक परियोजनासँग माग गर्नेछ ।

आयोजना प्रमुख एसीका अनुसार ती कामका लागि लाग्ने एकमुस्ट रकम सडक आयोजना कार्यालयले विभागको खातामा राखिदिएपछि रूख काट्न सुरु हुनेछ । उनका अनुसार वन विभागले सबै प्रक्रिया पु¥याएर फाइल तयार गर्ने अन्तिम चरणमा छ । काट्नुपर्ने रूखमध्ये धेरैजसो रुपन्देहीको सालझण्डीदेखि कपिलवस्तुको ४ नम्बर चोकसम्म रहेका छन् ।

तत्कालीन राजा महेन्द्रको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठूला सवारी चलाउन सहज हुने अपेक्षा गरिएको छ ।

सडक विस्तारसँगै व्यापार–व्यवसायमा पनि सहज हुने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले दाबी गरे । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यका दाङसँग जोडिन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २२ गते शनिबार