नेपालगन्ज ।
बाँकेको नरैनापुर गाउँपालिकामा उपचार आउन ढिलाइ भएर पुनः एक जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ६ सोनवर्षामा २८ वर्षीया निर्मला पासीको ज्यान गएको नरैनापुर वडा नम्बर ६ स्थित गंगापुर स्वास्थ्य चौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिए
पासीलाई १८ गते राति वान्ता भएपछि स्थानीय औषधि पसलमा लगेर पानी चढाइएको, त्यसले पनि सन्चो नभएपछि राप्ती सोनारीको देउपुरामा स्थानीय क्लिनिकमा उपचारका लागि लगिएको पाइएको छ ।
त्यसपछि पनि सन्चो नभएपछि १९ गते दिउँसो नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा केही घन्टामै चिकित्सकहरूले उनलाई मृत घोषित गरेको परिवारलाई उद्धृत गर्दै बुढाथोकीले बताए । मेडिकल कलेजले मृत्युको कारण खुल्ने कागजात नदिएको परिवारले बताएको पनि उनले जानकारी दिए ।
केही दिनअघि नरैनापुरकै वडा नम्बर ३ गेग्लीमा झाडापखालाका लक्षण देखिएर मृत्यु भएका व्यक्तिहरूलाई पनि स्थानीय क्लिनिककै उपचार गरिएको थियो । घटनाबारे सूचना पाएपछि आफूहरू निर्मलाको गाउँमा पुगेको र धेरै जना व्यक्तिहरू स्वास्थ्य समस्याग्रस्त रहेको पाएको उनको भनाइ छ ।
स्थानीय स्वास्थ्य केन्द्रमा बिहीबार एकै दिन १ सय ६ जनाले ज्वरो, आउँमासी र झाडापखालाको समस्या लिएर आएको उनले जानकारी दिए । जसमध्ये ४५ जनाले आउँमासी र पखालाको लक्षण देखिएको बताएको उनको भनाइ छ । त्यसमध्ये ३ जनामा जलवियोजनको अवस्था पाइएपछि औषधि उपचार गरेको बुढाथोकीको भनाइ छ ।
स्थानीय रामचन्द्र यादवका अनुसार अहिले गाउँमा जताततै ज्वरो र झाडापखाला जस्ता लक्ष्ण देखिने बिरामीहरू रहेका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहका अनुसार यस मौसममा गर्मी र सरसफाइको कमीका कारण बिरामीको संख्यामा बढोत्तरी हुने गरेको बताउँछन् । तर, नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ गेग्लीमा केही दिनअघि झाडापखालाको लक्षण देखिएर तीन जनाको ज्यान गएपछि मानिसहरू आत्तिने अवस्था रहेको उनले बताए ।
गाउँमा गएर बुझ्दा अवस्था अनियन्त्रित नरहेको पाएको उनको भनाइ छ । गाउँपालिकामा कुनै पनि किसिमको संक्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको र टोली गाउँमा खटाएर बिरामीहरूलाई उपचारमा ल्याउन र सचेतीकरण गर्ने काम गरिरहेको उनको
भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्