बर्दिया ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियालाई विशेष प्राथमिकतामा राखेर विकासका कार्यक्रम ल्याएको बताएका छन् । उनले चालु आर्थिक वर्षमा मात्रै प्रदेश सरकारले बर्दियाको विकास निर्माणमा मात्रै १ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेको दाबी गरे ।
मंगलबार प्रेस चौतारी बर्दियाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् । उनले बर्दियाको विकासको धरोहरको रूपमा रहेको कर्णाली प्रदेशसँग जोड्ने भुरिगाउँ तेलपानी सडक निर्माणलाई आगामी वर्षदेखि प्राथमिकतामा राखेर अगाडि बढाउने दाबी गरे ।
जनतालाई सुशासनको अनुभूति हुने गरी आफ्नो नेतृत्वको सरकारले काम गर्ने बताउँदै मुख्यमन्त्री आचार्यले विगत १० वर्षदेखि पूर्व विशिष्ट कर्मचारीहरूले पाउँदै आएको सुविधा कटौती गरेको बताएका थिए ।
त्यसैगरी, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले पालन गर्नुपर्ने आचारसंहिता निर्माण गरी पालन गर्ने गराउने कार्यको सुरुवात गरिएको उनले जानकारी दिए । छोटो समयमा जनताले अनुभूति गर्ने कार्यक्रम गरेको मुख्यमन्त्री आचार्यले दाबी गरे ।
प्रदेशभित्र १ हजार ९ सय ७८ जना कर्मचारीको दरबन्दी खाली रहेको बताउँदै पदपूर्तिको प्रक्रिया सुरु गरिसकेको उनले जानकारी दिए । त्यसका लागि प्रदेश सरकारले तयारी थालिसकेको मुख्यमन्त्री आचार्यले दाबी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्