बाँके ।
समिट एयरले नेपालगन्ज र धनगढी विमानस्थलबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान भर्ने भएको छ । मौसमले साथ दिए आजदेखि सुदूरका पहाडी जिल्लामा उडान भर्ने कार्यतालिका बनाइएको समिट एयरले जानकारी दिएको छ ।
समिटले साताको हरेक सोमबार र बिहीबार नेपालगन्जबाट विमानस्थलबाट धनगढी र त्यहाँबाट पहाडी जिल्लामा उडान भर्न लागेको हो । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले समिटले सोमबारदेखि पहाडी जिल्लामा नियमित उडान भर्न लागेको जानकारी दिए ।
‘बीचमा विविध कारणले नियमित उडान हुन नसके पनि समिटले फेरि उडान भर्ने कार्यतालिका बनाएको छ,’ उनले भने, ‘मौसमले साथ दिए सोमबारदेखि नै धनगढीबाट नियमित उडान हुन्छ ।’ समिटले आज बिहान नेपालगन्ज विमानस्थलबाट सिमिकोट उडान भरेर बिहान करिब ९ बजे धनगढी विमानस्थल पुग्ने कार्यतालिका बनाएको छ ।
त्यसपछि धनगढी–बझाङ–धनगढी तथा अर्को उडान धनगढी–साँफे–नेपालगन्ज उडान भर्ने कार्यतालिका बनाइएको छ । बिहीबारका लागि भने नेपालगन्जबाट सिमिकोट हुँदै धनगढी पुगेर बझाङ हुँदै नेपालगन्ज विमानस्थलका लागि उडान भर्नेगरी तालिका रहेको छ ।
समिटले धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न यसअघि परीक्षण उडानसमेत गरेको थियो । धनगढी विमानस्थलबाट डोटी, बझाङ र बैतडीमा समिटले परीक्षण उडान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्