शनिबार कोहलपुरमा भएको प्रतियोगितामा ग्रिनपिस माध्यमिक विद्यालय प्रथम, रामजानकी माध्यमिक विद्यालय दोस्रो र निम्बल एकेडेमी तेस्रो भएका छन् ।
कोहलपुर ।
पाँचौँ प्याब्सन अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता– २०८१ शनिबार कोहलपुरमा सम्पन्न भएको छ । प्याब्सन कोहलपुर नगर समितिको आयोजनामा भएको प्रतियोगितामा ग्रिनपिस माध्यमिक विद्यालयका विद्यार्थीहरूको नृत्य प्रथम भएको थियो ।
विद्यार्थीतर्फ भएको प्रतियोगितामा ग्रिनपिस माध्यमिक विद्यालय प्रथम, रामजानकी माध्यमिक विद्यालय दोस्रो र निम्बल एकेडेमी तेस्रो भएको प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुबेदीले जानकारी दिए । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २० हजार, १५ हजार र १० हजारसहित प्रमाण पत्र दिइएको थियो ।
प्रतियोगिता अन्तर्गत शिक्षकतर्फ दिपज्योति विद्याश्रम प्रथम, मिसन पब्लिक दोस्रो र बेबी ब्लुम मन्टेश्वरी तेस्रो भएका थिए । प्रथम, दोस्रो र तेस्रो आउने विद्यालयलाई नगदसहित सम्मान गरिएको थियो ।
तीज नृत्य प्रतियोगिताको कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुबेदीले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले विकृति र विसंगतिलाई न्यूनीकरण गरी मौलिकतामा आधारित तीज मनाउन आग्रह गरिन् ।
‘पछिल्लो समयमा दर खाने र दर खुवाउने पनि देखासिकि गरेर भड्किलो गरिरहेको देखेकी छु,’ उनले भनिन्, ‘त्यसलाई रोक्नलाई यस्ता प्रतियोगिताबाट भड्किलो नगरी मौलिकतामा आधारित तीज मनाउन आग्रह गर्दछुँ ।’
प्याब्सन कोहलपुरका अध्यक्ष सुबेदीले विगतदेखि हरितालिका तीजको अवसर पारेर तीज नृत्य प्रतियोगिता गर्दै आएकोे र अहिले पाँचौँ वर्षसम्म सफलतापूर्वक सम्पन्न गरेको बताए । प्रतियोगितामा प्याब्सन कोहलपुरमा आबद्ध १५ विद्यालयहरूले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्