नेपालगन्ज ।
बाँकेका सामुदायिक माध्यमिक विद्यालयमा कार्यरत विज्ञान शिक्षकका लागि आयोजना गरिएको तीनदिने सूचना तथा सञ्चार प्रविधि (आईसिटी ) तालिम सम्पन्न भएको छ । विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्राविधिक सहकार्यमा भाद्र ८ गतेदेखि सुरु गरिएको तालिम सम्पन्न भएको विज्ञान शिक्षक समाजका अध्यक्ष यमनाथ पौडेलले जानकारी दिए ।
उनले खासगरी कक्षा ९ र १० को विज्ञान तथा प्रविधि विषयमा सूचना तथा सञ्चार प्रविधि नयाँ एकाइ भएको र विज्ञान मात्र पढाउने शिक्षकलाई सो पाठ पढाउन कठिन भएको गुनासो आएपछि लुम्बिनी प्रविधिक विश्वविद्यालयसँगको सहकार्यमा सो तालिमको आयोजना गरिएको बताए । तालिममा बाँकेका सामुदायिक विद्यालयमा कार्यरत ६० जना विज्ञान शिक्षक सहभागी थिए । तीन दिनसम्म सञ्चालन भएको तलिमलाई लुम्बिनी विश्वविद्यालयका सहायक प्राध्यापकहरूले सहजीकरण गरेका थिए ।
विज्ञान तथा प्रविधि विषयको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) एकाइ तथा विज्ञान तथा प्रविधि विषयलाई आइसिटीमा जोडेर अध्यापन गराउने यस्तो तालिमपश्चात् विज्ञान शिक्षकहरूको क्षमतामा विकास हुने र विद्यार्थीहरूलाई अध्यापन गराउन मद्दत पुग्ने सहभागी शिक्षकहरूले बताएका छन् ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगन्ज, बाँकेका डिन डा. कीर्तिकुसुम जोशीको प्रमुख आतिथ्य तथा विज्ञान शिक्षक समाज नेपाल (एसटिएएन) लुम्बिनी प्रदेशका अध्यक्ष यमनाथ पौडेलको अध्यक्षतामा सञ्चालित समापन कार्यक्रममा विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापा, ग्लोबल साइन्टिफिक कर्पोरेसन नेपालगन्ज बाँकेका साझेदार केशव ज्ञवाली तथा लुम्बिनी प्राविधिक विश्वविद्यालय नेपालगन्ज, बाँकेका सिनियर उपप्राध्यापक चतुर्भुज भट्ट, प्रतीक चन्द, सहायक प्राध्यापक सञ्जीव रेग्मी, प्रकाश गुप्ता, नरेन्द्रबहादुर शाही, नमन बर्मा, अनुसन्धान सहायक नरेन्द्रबहादुर शाही, ल्याब असिस्टेन्ट राजकुमार थारू, मानबहादुर खड्कालगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्