चालु आवमा नै सम्पन्न गर्नेगरी खजुरा गाउँपालिकाले ‘एक वडा एक गौरबका योजना’ अगाडि सारेको छ । प्रत्येक वडाबाट माग भएर आएका योजनालाई पालिकाले बजेट छुट्याएर चालु आवमा सम्पन्न गर्नेछ । त्यसका लागि गाउँपालिकाले सबै वडामा गौरबका योजना छनौट लगायतका काम समेत अन्तिम चरणमा पु¥याइसकेको छ ।
खजुरा ।
चालु आव २०८१/०८२ मा बाँकेको खजुरा गाउँपालिकाले ८ वटै वडामा गौरबका योजनाहरू अगाडि सारेको छ । वडामा चालु आवका लागि विनियोजित बजेटबाहेक पालिकाले थप बजेट विनियोजन गरेर सबै वडामा गौरबका योजनाहरू अगाडि सारेको हो ।
त्यसका लागि सबै वडामा गौरबका योजना छनौट लगायतका काम समेत अन्तिम चरणमा पुगेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक तुफानले जानकारी दिए । ‘सबै वडाका सञ्चालन गरिने गौरबका योजना चालु आवमा सक्ने योजना बनाएका छौँ’ उनले मिसन टुडेसँग भने, ‘यसले वडामा ठूला भौतिक संरचना समेत निर्माण हुन्छन् ।’
केही दिन पहिले मात्रै गाउँपालिका अध्यक्ष तुफान, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, पूर्वाधार शाखा प्रमुख इन्जिनियर सोनू शाहसहितको टोलीले गौरबका योजनाहरूको सर्वे हुने स्थानको स्थलगत अनुगमन गरेको थियो ।
गाउँपालिका अध्यक्ष तुफानका अनुसार चालु आवमा सबै वडामा कम्तीमा एक करोड रुपैयाँ बजेटको एउटा गौरवको योजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो ।
‘एउटा वडामा कम्तिमा एक करोड रुपैयाँ योजना सञ्चालन हुन्छ’ उनले भने, ‘यसका लागि दिर्घकालिनरूपमा प्रवाह पार्ने योजनाहरू छनौट भएका छन् ।’ पालिकाले मात्रै नभएर केन्द्र र प्रदेश सरकारले अगाडि बढाएका ठूला योजनाहरू सम्पन्न भएपछि खजुरा एउटा समृद्ध सहरका रूपमा विकास हुने अध्यक्ष तुफानले दाबी गरे ।
स्थानीय बासिन्दाको अपनत्व र सहभागिताका लागि समस्या, आवश्यकताका आधारमा योजना प्राथमिकीकरण गरिएका ‘एक वडा एक गौरबका योजना’ छिट्टै नै टेन्डर प्रक्रिया गरी कार्यान्वयनको तहमा लैजाने उनले बताए ।
खजुरा गाउँपालिका मन्जु मल्लले पालिकाले क्रमश टुक्रे योजनालाई हटाउँदै लैजान थालेको बताइन् । विकास निर्माणका योजना प्रभावकारी बन्न नसक्नुको प्रमुख कारण टुक्रे योजना रहेकोले चालु आवदेखि नै खजुरा गाउँपालिकाले हटाउँदै लगेको उनले दाबी गरिन् ।
‘विकास निर्माण योजना प्रभावकारी बन्न नसक्नुको प्रमुख कारण टुक्रे योजनालाई मानिएको छ’ उपाध्यक्ष मल्लले भनिन्, ‘त्यसैले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन यसै वर्षदेखि टुक्रे योजना हटाउँदै लगेका हौँ ।’
पालिकाको सोही नीति अनुसार चालु आवको लागि वडा स्तरबाट योजना तर्जुमामा भएका वडा स्तरबाट पूर्वाधार विकासका योजनाहरू ‘एक वडा एक गौरबका योजना’ सञ्चालन गर्ने गरि वडा स्तरमा योजना तर्जुमा गरिएको उनले बताइन् ।
‘एक वडा एक गौरबका योजना’ अनुसार वडा कार्यालय भवन, बहुउद्देशीय सभाहल, सडक निर्माण लगायतका भौतिक संरचना निर्माण गरिने खजुरा गाउँपालिकाले जनाएको छ । पालिकाको योजना अनुसार वडा नम्बर १ र २ मा काम समेत सुरु भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।
‘वडाबाट माग भएर आएका ठूला योजनालाई गौरबका योजनाका रूपमा कार्यान्वयन हुँदैछन्’ उनले मिसन टुडेसँग भने, ‘वडा नम्बर १ र २ मा काम भइरहेको छ । अन्य वडाहरूको लागि केही दिनमै टेण्डर आह्वान गर्ने प्रक्रियामा हामी छौँ ।’
प्रमुख प्रशासकीय अधिकृत रानाले दिएको जानकारी अनुसार वडा नम्बर १ मा वडा कार्यालय भवन निर्माण र वडा नम्बर २ मा बहुउद्देशीय सभाहल निर्माण भइरहेका छन् । अन्य वडाहरूमा स्थानीयको आवश्यता र मागअनुसार बहुउद्देशीय सभाहल र सडक निर्माण गरिने उनले बताए ।
टुक्रे भन्दा उपलब्धि देखिने र जनतालाई तत्काल राहत मिल्ने योजनालाई प्राथमिकता दिई टोल विकास समितिको पहलमा बस्ती स्तरमा भेला गरी योजनाको माग संकलन गरि वडा, विषयगत समिति, कार्यपालिका हुँदै गाउँसभाबाट गौरबका योजना पारित गरिने खजुरा गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्