बाँके ।
केही दिनयता बेपत्ता रहेका पूर्वराज्यमन्त्री एवं संविधान सभा सदस्य स्व. दिनेशचन्द्र यादवका छोरा मृत अवस्थामा फेला परेका छन् ।
भारतको श्रावस्तीको भिन्गामा रहेको आफ्नो घरबाट बुधबार राति बेपत्ता भएका यादवका माइलो छोरा धनञ्जय यादवको शुक्रबार शव फेला परेको हो ।
उनी भारत श्रावस्ती जिल्ला पञ्चायत सदस्यसमेत रहेका थिए । बेपत्ता धनञ्जयको शव शुक्रबार श्रावस्तीस्थित राप्ती नदीको बगरमा फेला परेको भारतीय प्रहरीले जनाएको छ ।
धनञ्जयको शुक्रबार नै नरैनापुर गाउँपालिका– २ लक्ष्मणपुरमा अन्तिम दाहसंस्कार भइसकेको बताइएको छ । बेपत्ता भएको भन्दै उनका आफन्त तथा भारतीय प्रहरीले खोजीका लागि सूचनासमेत जारी गरेका थिए ।
धनञ्जयको मृत्युको कारणबारे थप अनुसन्धान अगाडि बढाइएको भारतीय प्रहरीले जनाएको छ । धनञ्जयको मृत्युबारे नेपाल प्रहरीलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
‘यसबारे हामीलाई कुनै जानकारी आएको छैन,’ उनले मिसन टुडेसँग भने, ‘शव फेला परेको र हराएको समेत भारतीय क्षेत्रमा नै रहेकाले भारतीय प्रहरीले अनुसन्धान गरिरहेको होला ।’
प्रतिक्रिया दिनुहोस्