मनाइयो गाईजात्रा



बाँके ।

दिवंगत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि मनाइने गाईजात्रा पर्व मंगलबारदेखि सुरु भएको छ । भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मंगलबारदेखि सुरु भएको हो । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मंगलबारका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिइएको थियो ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । बाँकेको नेपालगन्जसहित देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्दछ ।

गाईजात्राको अवसरमा मंगलबार नेपालगन्जलगायतका क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले दिवंगत भएका परिवारको सम्झनामा गाईजात्रा निकालेका थिए । नेवाः पुच बाँकेको आयोजना र नेपालगन्जमा क्रियाशील नेवाः समुदायको गुठी, खलः र पुचःहरूको सहआयोजनामा निकालिएको गाईजात्रा बागेश्वरी पार्कमा पुगेर सम्पन्न भएको थियो ।

१० वटा दिवंगत परिवारबाट फरक–फरक शृङ्गार गरिएका देवी देवता र गाईको प्रतीकात्मक बालबालिका तथा वयस्कहरूको लावा लस्कर स्वस्तिक कटेजबाट सुरु भएर भुरेस्कुल, घरबारीटोल, धम्बोझी, सेतु विक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर परिसर पुगेर समापन भएको हो ।

गाईजात्रामा देवी देवताका आवरणमा सिङ्गारिएका बालबालिकासहित, तायमचा, लाखे नाचलगायतका झाँकी प्रदर्शन गरिएको आयोजक नेवाः देय दबुका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । नेपालगन्जमा मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका बाबजुद नेवार समुदायसहित मृतक घरका आफन्त र छिमेकीहरूको गाईजात्रामा उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ भदौ ५ गते बुधबार