समस्या समाधानको लागि अभिभावकसँग भएको सर्वपक्षीय छलफल । तस्वीरःमिसन
बाँके ।
बाँकेको राप्तीसोनारी गाउँपालिका बालापुरस्थित एक विद्यालयमा कक्षा एकमा पढ्ने एचआईभी संक्रमित बालिकाले (विद्यालय र विद्यार्थीको नाम गोप्य राखिएको) विभेदको सामना गर्नुपरेको छ । ती विद्यार्थी एचआईभी संक्रमित भएको थाहा पाएर अन्य अभिभावकले आफ्ना बालबालिकाहरूलाई विद्यालय नै नपठाएपछि एक सातादेखि पठनपाठनमा समस्या उत्पन्न भएको छ ।
विद्यालयमा कक्षा १ मा १७ जना बालबालिकाहरू रहेकोमा १४ जना बालबालिकाहरूले एचआईभी संक्रमित बालिकाको बारेमा थाहा पाएपछि आफ्ना बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् । एक हप्तादेखि सबै अभिभावकहरूले आफ्ना बालबालिका विद्यालय पठाइरहेका छैनन् ।
उक्त विद्यालयका प्रअले समेत मिसन टुडेसँगको टेलिफोन कुराकानीमा उक्त कुरा स्विकार गरेका छन् । ‘म बाहिर भएको बेला अभिभावकहरूको तर्फबाट यो विषयमा संशय व्यक्त गर्नुभएको थाहा पाए । अहिले अभिभावकसँग छलफल गरेर उहाँहरूको सशंय मेटाउने काममा लागेको छुँ ।’ विद्यालयका प्रअले विद्यालयको तर्फबाट अभिभावकहरूसँग छलफल गरि समस्या समाधानको पहल भइरहेको बताएका छन् ।
उनकाअनुसार आज आइतबारसम्म हाल उत्पन्न समस्याको समाधान हुने अपेक्षा गरिएको छ । यो विषयमा एचआईभी संक्रमितहरूको पक्षमा आवाज उठाउँदै आएको संस्थाहरूको ध्यानाकर्षण समेत भएको छ । जुनकिरी महिला समुहका कार्यक्रम अधिकृत रबिन्द्रसिंह राठौर नेतृत्वको टिमले विद्यालयमै पुगेर वास्तविकता अध्ययन गरि अभिभावकसँग छलफल गरेको छ ।
स्वास्थ्यकर्मी समेतको उपस्थितिमा भएको छलफलमा एचआईभी संक्रमित कुन अवस्थामा सर्छ र कुन अवस्थामा सर्दैन भनेर स्पष्ट पारेर उनीहरूमा रहेको संशय मेटाएर समस्या समाधान गर्ने काम भइरहेको राठौरले बताए । आवश्यक परेको अवस्थामा चिकित्सकको टोलि समेत लगेर समस्या समाधान गरिने उनको भनाइ छ ।
राठौरले आफ्ना बालबालिकाहरूलाई एउटै कक्षा कोठामा राखेर पढाए आफ्ना बालबालिकालाई एचआईभी संक्रमण हुने अभिभावकको बुझाइ रहेको बताए । जुन गलत रहेको र अझै पनि सचेतनाको अभावले भेदभावपूर्ण व्यवहारको चरम सामना गरिरहेको यो पछिल्लो उदाहरण भएको उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्