बाँके ।
आइएमई लाइफ इन्स्योरेन्स कोहलपुर शाखाले आइतबार सितल वन वाटिकामा विभिन्न प्रजातीका फूलहरूका बिरुवा रोपेको छ । कोहलपुर नगरपालिका– ८ मा रहेको सितल वन वाटिकामा शाखा कार्यालय कोहलपुरले आइएमई लाइफ इन्स्योरेन्सको ७औं वार्षिकउत्सवको अवसर पारेर बिरुवाहरू रोपेको हो ।
इन्स्योरेन्सको ७औं वार्षिकउत्सव साताव्यापी कार्यक्रम गरेर मनाउने क्रममा कोहलपुर शाखाले वाटिकामा विभिन्न फूलहरूका बिरुवा रोपेको शाखा प्रमुख तिला भण्डारीले जानकारी दिइन् । ‘आगामी भदौ १ गते इन्स्योरेन्सको ७औं वार्षिकउत्सव हो । सोही अवसरमा साताव्यापी कार्यक्रमहरू हुँदैछन्’ उनले भनिन्, ‘सोही क्रममा कोहलपुर शाखाले वाटिकामा फूलहरूका बिरुवा रोपेको हो ।’
वृक्षरोपण कार्यक्रमको कोहलपुर नगरपालिका– ८ का वडाध्यक्ष लालबहादुर रानाले उद्घाटन गरेका थिए । वन वाटिकालाई पर्यापर्यटनसँग जोड्ने गरी स्थानीय सरकारले समेत प्राथमिकतामा राखेको उनले बताए ।
‘कोहलपुर नगरपालिकाको गौरवको योजनाका रुपमा वन वाटिकालाई पनि हेरिएको छ, उनले भने, ‘यसलाई आन्तरिक तथा बाह्रय पर्यटन प्रर्वद्र्धनका रूपमा विकास गर्न सकियो भने कोहलपुरको पहिचान बन्न सक्छ । सिलत छायाँ सामुदायिक वन उपभोक्ता समूह मातहत रहेको वन वाटिकाको मुहार फेर्ने गरी योजना बनिसकेको छ ।’
वडाध्यक्ष रानाले करिब २२ करोडको डिपिआर तयार भइसकेको बताउँदै करिब ४/५ करोड बराबरको पूर्वाधार निर्माणको लागि कोहलपुर नगरपालिकाबाट टेण्डर आह्वान हुन गइरहेको जानकारी दिए ।
‘एक किसिमले यहाँ हरेक क्षेत्रलाई समेट्दै संरचनाहरू निर्माण गरेर कोहलपुरको पहिचानका रूपमा यसलाई विकास गर्ने गरी डिपिआर वनेको छ, उनले भने, ‘यसले डिपिआर अनुसारको संरचना हुने हो भने बाँकेकै उत्कृष्ट पर्यटकिय गन्तव्य बन्न सक्छ ।’
आइएमई लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेश प्रमुख प्रेम तिमिल्सनाले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृक्षरोपण गरिएको बताए । वृक्षरोपण कार्यक्रममा सव डिभिजन वन कार्यालय कोहलपुरका प्रमुख सुनिल आचार्य, सामुदायिक वन समूहका पदाधिकारीहरू तथा सदस्यहरू, इन्स्योरेन्सका कर्मचारीहरू लगायतले सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्