बर्दिया ।
गुलरिया नगरपालिकामा एकैदिन सर्पदंशबाट दुई जना बालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ मन्दिर टोलकी ९ महिनाकी मायरा चौधरी र बेलटारी बस्ने ११ वर्षीया सोनिमा चौधरीको सर्पदंशबाट मृत्यु भएको हो ।
सर्पले टोकेर सिकिस्त अवस्थामा अस्पताल ल्याउँदै गरेका दुई बालिकाको बाटोमा नै मृत्यु भएको जिल्ला अस्पताल बर्दियाका अस्पतालका सूचना अधिकारी केशव न्यौपानेले जानकारी दिए । उनका अनुसार बिहीबार करिब बिहान २ बजे एउटी बालिका र अर्की बालिकालाई बिहान साढे ८ बजे आफन्तहरूले अस्पतालमा ल्याएका थिए ।
उपचारका लागि ल्याएपनि चिकित्सकहरूले दुबै बालिकालाई मृत घोषणा गरेका हुन् । उनीहरूलाई रातिको समयमा करेत सर्पले टोकेका आशंका गरिएको छ ।
यस्तै सर्पले टोकेर सिकिस्त मधुवन नगरपालिका–२ की ७ वर्षीया बालिका रियाको अहिले भेरी अस्पतालको आईसीयू वार्डमा भर्ना गरेर उपचार भइरहेको छ । अस्पतालका अनुसार बिहीबार दिउँसोसम्म चालु आर्थिक २०८१/०८२ मा बर्दिया अस्पतालमा ४२ जना सर्पले टोकेको बिरामी आइसकेका छन् ।
बर्दियामा जिल्ला अस्पताल गुलरिया, ठाकुरबाबा नगरपालिकाको नगर अस्पताल र बारबर्दिया नगर अस्पताल र भुरीगाउँको आम्बासामा नेपाली सेनाको दंश उपचार केन्द्रमा सर्पदंशका बिरामीहरूको उपचार हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्