एसइईको ग्रेड वृद्धिमा बाँकेबाट पाँच हजार सहभागी



नेपालगन्ज ।

माध्यमिक शिक्षा परीक्षा (एसइई ) को ग्रेड वृद्धि परीक्षामा बाँकेबाट पाँच हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् । बुधबारबाट सुरु भएको एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँकेका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् ।

गत चैत महिनामा भएको एसइईको परीक्षामा बाँकेका पाँच हजार ९९९ विद्यार्थीको एनजी आए पनि ग्रेड वृद्धि परीक्षाका लागि पाँच हजार २२५ जनाले मात्रै फारम भरेर परीक्षामा सहभागी भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका अनुसार परीक्षाका लागि जिल्लाका पाँच वटा पालिकाका १२ वटा विद्यालय परीक्षा केन्द्र तोकिएको छ भने परीक्षा सञ्चालनका लागि ५३५ भन्दा बढी शिक्षकलाई परिचालन गरिएको छ ।

नेपालगन्ज उपमहानगरमा चार वटा, कोहलपुर नगरपालिकामा चार वटा, राप्ती सोनारी गाउँपालिकामा दुई र खजुरा तथा बैजनाथ गाउँपालिकामा एक–एक वटा परीक्षा केन्द्र रहेका छन् ।

नेपालगन्जमा सरस्वती मावि, महेन्द्र मावि, मङ्गलप्रसाद मावि र धम्बोझी मावि, कोहलपुरमा राम मावि, त्रिभुवन मावि, ज्ञान ज्योति र लक्ष्मी मावि, राप्ती सोनारीमा लक्ष्मी मावि र सिद्धेश्वर मावि, खजुरामा ज्ञानोदय मावि र बैजनाथमा प्रभात माविमा परीक्षा केन्द्र तोकिएको समन्वय एकाइ बाँकेले जनाएको छ ।

ग्रेड वृद्धिको परिक्षामा सहभागी हुनेहरूमा सबैभन्दा बढी गणित विषयका विद्यार्थी रहेका छन् । गणित विषयमा तीन हजार ७३३, विज्ञानमा दुई हजार ७६८, सामाजिकमा दुई हजार ६२९, अङ्ग्रेजीमा एक हजार ९२३, अर्थशास्त्रमा एक हजार ८५२, नेपालीमा एक हजार ४०८ र ऐच्छिक गणितमा ७७१ जना विद्यार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहीबार