बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुको चोरी–सिकारी तथा अपराधसम्बन्धी विभिन्न सात वटा मुद्दा दर्ता गरेको छ । सात मुद्दामध्ये छ थान बाँके राष्ट्रिय निकुञ्ज र एक बाँके जिल्ला अदालतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दर्ता गरिएको हो ।
बाँके ।
गत आर्थिक वर्ष २०८०/८१ मा बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुको चोरी–सिकारी तथा अपराधसम्बन्धी विभिन्न सात वटा मुद्दा दर्ता गरेको छ । सात मुद्दामध्ये छ थान बाँके राष्ट्रिय निकुञ्ज र एक बाँके जिल्ला अदालतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दर्ता गरिएको हो ।
निकुञ्जका रेञ्जर बिनिता केसीका अनुसार गत आवमा संरक्षित जनावर चौखाको चोरी–सिकारीमा संलग्न एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गरिएको थियो । सवारी साधनको ठक्करबाट मृत्यु भएका पाँच र चित्तल सिकारीको एक गरी छ मुद्दा निकुञ्जमै दर्ता भएको उनले जानकारी दिइन् ।
‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित जनावरको चोरी–सिकारीको मुद्दा अदालतमा दर्ता गर्छौं, अन्य जनावरको मुद्दा निकुञ्जमै दर्ता गरेर अनुसन्धान र फैसला हुने गर्दछ’ रेञ्जर केसीले भनिन्, ‘गत आर्थिक वर्षका सातवटा मुद्दा अनुसन्धानका क्रममा रहेका छन्, अझै फैसला भइसकेको छैन ।’
उनका अनुसार सवारी साधनसँग ठोक्किएर एक रतुवा र चार चित्तलको मृत्यु भएको तथा एक चित्तल चोरी–सिकारीको मुद्दा निकुञ्जमा दर्ता भएको छ । यसैगरी, संरक्षित जनावर चौखा चोरी–सिकारीको एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता भएको बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्