आज रानाथारू समुदाय तीज मनाउँदै



खासगरी सुदूरपश्चिम प्रदेशको कैलाली र कन्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायहरूले आज धुमधामका साथ तीज मनाउँदैछन् । रानाथारू समुदायका महिलाले अन्य समुदायका महिलाभन्दा अगाडि तीज पर्व धुमधामसँग मनाउने गर्छन् । तीजको अवसरमा आज कैलाली र कन्चनपुरका विभिन्न पालिकाहरूले सार्वजनिक बिदा समेत दिएका छन् ।

बाँके ।

रानाथारू समुदायमा मंगलबारबाटै तीजको रौनक सुरु भएको छ । खासगरी सुदूरपश्चिम प्रदेशको कैलाली र कन्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायहरूले आज धुमधामका साथ तीज मनाउँदैछन् ।

पर्वको अवसर पारेर रानाथारू गाउँमा सामनको डोलामा रमाउने कार्य भइरहेको रानाथारू समुदायका अगुवा नारायण रानाले जानकारी
दिए । उनका अनुसार यो पर्व विशेष गरी रानाथारू समुदायका महिलाहरू ब्रत बसी आफ्ना दाजुभाइ तथा भतिजाहरूको सुस्वास्थ्य एवम् दिर्घायुको कामना गर्दै मनाउने गर्दछन् । रानाथारू समुदायमा श्रावन शुक्ल तृतीयामा तिजियागुडिया (तीज) मनाउने प्रचलन छ । यो पर्वमा साउनको डोला अर्थात पिङ्ग खेल्दै आफ्ना सुखदुखका कुरा गीतमार्फत व्यक्त गरिन्छ ।

परापूर्वकालमा राना समुदायमा दुःख वा बिरामी परेर पुरुष मानिसको मृत्यु र गरिबी बढेपछि महिलाहरूले भाइभतिजाहरूको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै तीजको ब्रत बस्न थालेको रानाथारू समुदायमा विश्वास रहिआएको छ ।

त्यतिबेला रानाथारू समुदायको महिलाले ब्रत बसेर भगवान श्रीकृष्णको अर्चना गरेपछि समाजबाट दुःख हटेर समाजमा खुशी, सुख र शान्ति आएको रानाथारू समुदायका अगुवाहरू बताउँछन् ।आज दिनभर ब्रत बसेर साँझ भएपछि एक साथ नदी तथा तलाउमा गएर दाभ (कुस) को बोटमा एकै हातले झुर्खी (चुल्ठी) बाँधेर त्यसमा विभिन्न खाने कुराका परिकारलाई प्रसादको रूपमा चढाइन्छ ।

पूजा गरिसकेपछि त्यसलाई उखेलेर वा चाँदीको सिक्काले काटेर नदीमा बिसर्जन गर्ने चलन रहेको छ । ‘जति ठूलो नदीको धार, त्यति लामो मेरो दाजुभाइ, भजिताको आयु’ भन्दै झुर्खी विसर्जन गर्ने गरिन्छ ।

नदीको लम्बाई जस्तै आफ्ना दाजुभाइ र भजिताको उमेर बढ्ने विश्वास रहेको जनाइन्छ । यसरी बनाएर बगाइने झुर्खीमा विवाहित महिलाले सात गाँठो र अविवाहित महिला पाँच गाँठो बाध्ने चलन छ । झुर्खी विसर्जनपछि आपसमा प्रसाद बाँडेर ब्रत तोड्ने चलन छ । त्यसपछि घर आएर बनाएका विभिन्न परिकारहरू एक आपसमा बाँडेर खाने र खुशीयालीका साथ यो पर्व मनाइने गरिन्छ ।

रानाथारू समुदायका महिलाले अन्य समुदायका महिलाभन्दा अगाडि तीज पर्व धुमधामसँग मनाउने गर्छन् । रानाथारू समुदायको तीजको अवसर पारेर धनगढी उपमहानगरपालिकासहित कैलाली र कन्चनपुरका केही पालिकाहरूले आज स्थानीय सार्वजनिक बिदा समेत दिएका छन् ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार