कोहलपुर ।
नेपाली कांग्रेस कोहलपुर नगर कार्य समितिले कार्यकर्ता भेटघाट तथा खीर खाने कार्यक्रम गरेको छ । नगर कार्यसमितिको आयोजना तथा प्रजातान्त्रिक उद्योगी व्यवसायी कोहलपुर तथा नेपाली कांग्रेस वडा नम्बर ११ को व्यवस्थापनमा कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।
मंगलबार भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले वी.पी. का विचारलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए । आगामी कार्तिक ३ गते हुन गइरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा पार्टीले तय गरेका उम्मेदवारहरूलाई विजयी गराउन सबै लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै कांग्रेसका युवा नेता तथा महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कांग्रेस नेपाली जनताको जीवनसँग जोडिएको बताउँदै काँग्रेस पार्टीको नीति, विचार र सिद्धान्तबाटै नेपाली समाजको रूपान्तरण हुने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस बाँकेका उपसभापतिद्वय कृष्ण कार्की, गोपाल अधिकारी, क्षेत्र नम्बर १ (ख) का प्रदेश सभापति बलाराम शर्माले नेपालको वर्तमान समयमा वी.पी.को विचारसँग जनतालाई जोड्नुपर्ने बताए । उनीहरूले कांग्रेसले मुलुकको परिवर्तनमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको बताउँदै कांग्रेसले गरेका गतिविधिहरूका बारेमा जनतालाई जानकार बनाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, उपाध्यक्ष प्रदिप भट्टराईले, नेपाली कांग्रेस कोहलपुर नगर सभापति बीरेन्द्र कुमार शाह लगायतले बोलेका थिए । कार्यक्रममा कोहलपुर क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको नेपाली कांग्रेस कोहलपुर नगर सचिव बालकुमार शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्