बाँके राष्ट्रिय निकुञ्जद्वारा हतियारसहित शिकारी रंगेहात पक्राउ



बाँके ।

राप्ती सोनारी गाउँपालिका– ९ बाट बाँके राष्ट्रिय निकुञ्जले एक जना शिकारीलाई रंगेहात पक्राउ गरेको छ । बुधबार राति राप्ती सोनारी गाउँपालिका–९ अन्तर्गत पर्ने महादेवा जंगलबाट निकुञ्जको संयुक्त गस्ति टोलीले मरेको चित्तल र बन्दोबस्तीका सामानसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका– १३ सिम्रीका ४४ वर्षीय मोहन थारू रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए । उनका अनुसार थारूलाई गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामानसहित पक्राउ गरिएको थियो ।

निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने गरेको शंकाको आधारमा निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिएका थिए । गस्तीका क्रममा महादेवा जंगलबाट थारूलाई रंगेहात पक्राउ गर्न सफल भएको प्रमुख संरक्षण अधिकृत शाहले जानकारी दिए ।

पक्राउ परेका थारूविरुद्ध निकुञ्जले आवश्यक अनुसन्धान सुरु गरेको छ । उनीविरुद्व राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हात हतियार खरखजना अन्तर्गत मुद्दा चलाइने प्रमुख संरक्षण अधिकृत शाहले बताए । थारूलाई निकुञ्जको मुख्यालय ओभरीमा रहेको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार