सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान



कैलाली ।

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले ८ साउनमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका समेत गरी एक चौथाइ बढी प्रदेश सभा सदस्यको माग अनुसार प्रदेश प्रमुख मियाँले विशेष अधिवेशन आह्वान गरेका हुन् ।

संविधानको उक्त धारामा प्रदेश सभाका एक चौथाइ सांसदले अधिवेशन बोलाउन माग गरेको खण्डमा प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको पत्र शुक्रबार प्राप्त भएको जानकारी दिए ।

२९ असारमा प्रदेश सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मात्र प्रदेश सभाको जारी अधिवेशन अन्त्य गरेका थिए । प्रदेश सभाको अधिवेशन अन्त्य भएपछि मुख्यमन्त्री दीर्घबहादुर नेतृत्वको सरकारलाई अध्यादेशमार्फत बजेट ल्याउने बाटो खुलेको थियो ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार