सिमिकोटमा आकासियो आलुको मूल्य



हुम्ला ।

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा किसानले उत्पादन गरेको नयाँ आलु बजारमा आएसँगै त्यसको मूल्य तेब्बरले वृद्धि भएको छ ।

सिमिकोटलगायतका बजारमा पुरानो आलु सकिएको र नयाँ आलु बजारको मागभन्दा कम आउन थालेपछि आलुको मूल्य वृद्धि भएको हो ।
उपभोक्ता उत्सव लामाले नयाँ आलु बजारमा आउन सुरु भएसँगै त्यसको मूल्यवृद्धि भएको जानकारी दिए । उनका अनुसार हाल नयाँ आलुको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँ पर्ने गरेको छ ।

जबकि पुरानो आलुको मूल्य प्रतिकेजी ४० रुपैयाँ पर्ने गरेको थियो । उनले पुरानो सकिने र नयाँ उत्पादन हुने समयको मौका छोपेर आलुको मूल्य वृद्धि भएको बताए । यस वर्ष नयाँ आलुको उत्पादन पनि राम्रो नभएका कारण मागभन्दा कम आलु बजारमा आइरहेका कारण मूल्यवृद्धि भएको बताइएको छ ।

व्यावसायिक आलुखेती गर्दै आएका किसान जानपुरी भण्डारीले गाउँबाट तीन घन्टा पैदलै बोकेर ल्याएका कारण पनि आलुको मूल्य वृद्धि भएको बताइन् । उनले हालसम्म १० क्विन्टल आलु प्रतिकेजी १ सय ५० रुपैयाँमा बिक्री गरेको र यो क्रम जारी रहेको जानकारी दिइन् ।

उनका अनुसार हालसम्म सबैभन्दा बढी मूल्यमा आलु बिक्री भएको बताउँदै खडेरीका कारण आलु उत्पादन पनि कम भएको छ । उद्योग वाणिज्य संघ सिमिकोटका अध्यक्ष रामबहादुर भण्डारीले नयाँ आलु भर्खर आउन सुरु भएका कारण पनि मूल्य बढी भएको जानकारी दिए । आलुको मूल्य वृद्धि भएका कारण किसान र तरकारी व्यापारीसँग छलफल गरिने उनले बताए ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार