मिडियालाई प्रविधिसँगै अघि बढ्न सुझाव



कोहलपुर ।

प्रविधिको विकाससँगै मूलधारका मिडियाहरू पनि यसको सदुपयोग गरी अघि बढ्नुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् । बुधबार नेपालगन्जमा ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सूचना प्रविधिको उच्चतम विकास र डिजिटल युगको समय रहेकाले यसलाई सदुपयोग गरेर मिडियाले जतिसक्दो कन्टेन्टहरू निर्माण गरेर सत्यतथ्य समाचार जनमानसमा पु¥याउन सक्नुपर्ने उनको भनाइ छ । अहिले केही सञ्चार माध्यमहरूले यसको प्रयोग गर्दै आइरहेको पनि उनले बताए ।

‘प्रविधिको प्रयोग गरेर नयाँ तरिकाबाट अगाडि बढ्न सके मात्र पत्रकारितामा देखिएको वर्तमान आर्थिक संकटको पनि समाधन गर्न सकिन्छ,’ उनले भने, ‘नयाँ शैली नपनाई पुरानै ढर्राबाट पत्रकारिता गर्ने हो भने अब फड्को मार्न सकिँदैन ।’

अहिले प्रविधिको विकाससँगै भित्रिएको सामाजिक सञ्जालमा विभिन्नखाले विकृति फैलिएको पनि उनले बताए । ‘तर, अब अहिले सामाजिक सञ्जाललाई नकार्न सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘त्यसैले समयको मागअनुसार सामाजिक सञ्जालको सदुपयोग गर्दै मिडियाहरू पनि अगाडि बढ्नुको विकल्प छैन ।’ अहिलेका युट्युबलगायतका प्लेटफर्मको प्रयोग गरी नयाँ तरिकाले स्थानीयलाई सुसूचित गराउनु आवश्यक रहेको उनको भनाइ छ ।

‘अरूलाई प्रश्न गर्ने ठाउँमा रहेका सञ्चारकर्मीहरूलाई नै अहिले समाजका विभिन्न निकायले प्रश्न उठाइरहेका छन्,’ उनले भने, ‘यो स्थिति हाम्रै काम गराइका कारणले सिर्जना भएको हो ।’ पत्रकारले अरूको कमी कमजोरी औँल्याउने मात्र नभई सुझाव दिन पनि आवश्यक रहेको उनले बताए ।

‘अब हामी पत्रकार आफैँ सच्चिएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘नत्र अरूलाई सच्याउन र सुसूचित गराउन सकिँदैन ।’ मिडिया अहिले पनि संकटमा रहेकाले अब पत्रकारिताको ट्र्याक चेन्ज गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

प्रविधिको दुुरुपयोग गर्दै पत्रकारहरूले कपि–पेस्ट गर्ने गरेको जनाउँदै उनले यस्तो प्रवृत्तिको अन्त्य गरी पत्रकारहरूलाई अध्ययन गरी खोजमूलक समाचार लेख्न सुझाए ।

नेपालको सन्दर्भमा परम्परागत भनिने सञ्चारमाध्यमले पाठकमाझ प्रभावकारी उपस्थिति जनाउन सक्नुपर्ने उनको भनाइ छ । त्यसका लागि युट्युबसहित सामाजिक सञ्जालमार्फत द्रुत सम्प्रेषणको रणनीति सञ्चार माध्यमले बनाउनुपर्ने उनले बताए ।

अहिले प्रेस काउन्सिलमा पर्ने धेरै उजुरीहरू अनलाइनसम्बन्धी रहेको प्रेस काउन्सिलका सदस्य सरोज अधिकारीले जानकारी दिए । सामाजिक सञ्जालमा तथानाम लेखेर पोस्ट गरी डिलिट गरे पनि प्रविधिको दुनियाँमा डिलिट भन्ने कुरा केही नहुने उनको भनाइ छ ।

यो प्रविधिको दशक भएकाले यसलाई कसरी व्यवस्थित र मर्यादित बनाउने भन्ने विषयलाई लिएर प्रेस काउन्सिल देश दौडाहामा रहेको उनले बताए । सामाजिक सञ्जाल पत्रकारहरूका लागि सूचनाको मुख्य स्रोत बनिरहेको उनको बुझाइ छ । ‘तर, हामीले यसको सुझबुझपूर्ण प्रयोग गर्नुपर्छ । सत्यतथ्य जाँच्न सक्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहीबार