हुम्ला पुग्यो वाणिज्य बैंकको ३० करोड



खुम रावत । हुम्ला ।

हिमाली जिल्ला हुम्लामा आर्थिक अभाव हुन नदिन राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाले हवाई मार्गबाट ३० करोड रुपैयाँ भित्र्याएको छ । राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखाले नेपाल राष्ट्र बैंकसँग माग गरेअनुसार ३० करोड मंगलबार हुम्ला पुगेको हो ।

केही दिनअघि भएको अविरल वर्षाका कारण हवाई उडान नहुँदा उक्त पैसा जिल्ला पुग्न सकेको थिएन । मौसममा सुधार आएसँगै मंगलबार सो पैसा हुम्ला पुगेको राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाका प्रबन्धक दीपककुमार शाहले जानकारी दिए ।

‘पैसाको अभाव भएका बेला जिल्लामा ३० करोड रुपैयाँ आइपुगेको छ,’ प्रबन्धक शाहले भने, ‘आर्थिक वर्षको अन्त्यसँगै बैंकहरूमा पैसाको अभाव थियो ।’ राष्ट्र बैंक नेपालगन्जबाट हुम्लामा पैसा ल्याइएको हो । विभिन्न विकासे योजनाको भुक्तानी धेरै दिनु पर्दा बैंकमा पैसाको अभाव भएको प्रबन्धक शाहले बताए ।

जिल्लाको मागअनुसार राष्ट्र बैंकले पैसा पठाएपछि अब जिल्लामा पैसाको समस्या नहुने उनले बताए । असार २३ गतेअघि बैंकहरूमा सेवाग्राहीको सामान्य चहलपहल रहने गरेको भए पनि त्यसपछि दैनिक भुक्तानी लिनेको चाप बढेको प्रबन्धक शाहले बताए ।

आइतबार यतादेखि बैंकले दैनिक ३ करोडसम्म भुक्तानी दिने गरेको छ । विभिन्न विकासे योजना तथा आयोजनाका रकम लिन सेवाग्राही आउने गरेका छन् ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहीबार