राप्ती सोनारी गाउँपालिकाको पुँजीगत खर्च ७० प्रतिशत



बाँके ।

राप्ती सोनारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ७० प्रतिशत पुँजीगत खर्च गरेको छ । गाउँपालिकाले बुधबार सार्वजनिक गरेको चालु आवको वित्तीय प्रगति विवरण अनुसार पुँजीगततर्फ ७० प्रतिशत रकम खर्च गरेको हो ।

चालुतर्फ भने ८१.६४ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी दिए । उनका अनुसार चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटमध्ये ७८.९ प्रतिशत खर्च भएको छ ।

चालु आवमा गाउँपालिकाले ६६ करोड ७९ लाख ८९ हजार ६ सय १९ रुपैयाँ २१ पैसा खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत ऐडीले जानकारी दिए । चालुतर्फ ५२ करोड ९० लाख ४५ हजार ३ सय २७ रुपैयाँ २१ पैसा र पुँजीगततर्फ १३ करोड ८९ लाख ४४ हजार २ सय ९२ रुपैयाँ खर्च भएको थियो ।

चालु आवको खर्च तथा भुक्तानी लेखाङ्कनसम्बन्धी सबै कामहरू सम्पन्न भएर खाता बन्द गरिसकिएको गाउँपालिकाका लेखा अधिकृत गौरव लामिछानेले जानकारी दिए ।

देशभरका स्थानीय तहहरूमा असार २४ गते रातिदेखि आर्थिक कारोबार बन्द भइसकेको छ । गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पुँजीगततर्फ शतप्रतिशत खर्च हुने गरी काम गरे पनि विभिन्न कारणले त्यो सम्भव हुन नसकेको बताए ।

चालु आवको बजेट कार्यान्वयनमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी, विभिन्न संघ संस्थालगायत सबैलाई आभार व्यक्त
गरे । आगामी वर्ष सबैको साथ र सहयोग लिएर पुँजीगत खर्च शतप्रतिशत पु¥याउन गाउँपालिका योजना बनाएर लाग्ने अध्यक्ष पौडेलले बताए ।

 

प्रकाशित मिति : २०८१ असार २८ गते बिहीबार