कोहलपुरमा बाढी र डुबानको समस्या बढ्ने पूर्वानुमान



कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकामा धेरै परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ ।

बाँके ।

कोहलपुर नगरपालिकाले यस वर्ष बाढी र डुबानबाट नगर क्षेत्रभित्र १३ हजार ६ सय ३० व्यक्ति प्रभावित हुने प्रक्षेपण गरेको छ । यस वर्ष वर्षा बढी हुने अनुमानका आधारमा बाढी र डुबानबाट नगरपालिकामा १५ वडाका ३ हजार घरधुरीका १३ हजार ६ सय ३० व्यक्ति उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्ष बढी वर्षाको सम्भावना रहेको आँकलन गरेको छ । लुम्बिनी प्रदेशमा यस वर्ष ३५ देखि ४५ प्रतिशतसम्म वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।

त्यसैका आधारमा कोहलपुर नगरपालिकाले विगतका तुलनामा यस वर्ष नगरभित्र बाढी र डुबानको समस्या बढ््न सक्ने अनुमान गरेको हो । कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकामा धेरै परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको अध्यतामा आइतबार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ पारित गरेको छ ।

प्रमुख आचार्यले अब सोही योजनाअनुसार क्षतिलाई न्यूनीकरण गर्दै जाने गरी तीव्र गतिमा काम गर्न विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको बताए । कोहलपुर विपद् व्यवस्थापन शाखा प्रमुख वीरबहादुर थापाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित भएसँगै त्यसको कार्यान्वयन पनि सुरु भएको जनाए ।

उनका अनुसार समितिले यो बर्खायाममा बाढी र डुबानबाट नगरका १, ८, ९, १२, १३ र १४ नम्बर वडामा बाढी र डुबानको जोखिम देखिएको
छ । प्रतिकार्य योजनामा वडा नम्बर १२ मा १ हजार घरधुरीका ४ हजार २ जना प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

थारूगाउँ, दीपज्योति टोल, शान्ति टोल, निबुवा, जानकी टोल, सुन्दरबस्ती, मसुरीखेत, रामजानकी टोल, रोहिणी, प्रगति टोल र स्कुल टोल जोखिममा रहेका छन् । यसैगरी, वडा नम्बर १३ का सिमरी, झोलुंगे पुलको दायाँबायाँ, भरैया, थारूगाउँ, खड्कवार, नेरामाविको उत्तरवस्ती गरी १ सय ७५ घरधुरीका ७ सय ४० व्यक्ति प्रभावित हुने अनुमान गरिएको छ ।

वडा नम्बर १४ मा हवल्दारपुर, गीतापुर, उढरापुर र रिहार गरी १ सय ६० घरधुरीका ८ सय परिवार जोखिममा छन् । वडा नं.८ का ८ सय घरधुरीका ३ हजार २ सय व्यक्ति जोखिममा छन् । सो वडाका मुन्नापुर, झर्कट्टी, पिपरीचोक टोल जोखिममा परेका छन् । वडा नं.९ का गणेश टोल, भेरी ग्यासको पूर्व तथा उत्तरका ३ सय ७५ घरधुरीका एक हजार १ सय ९५ परिवार प्रभावित हुने आँकलन छ । वडा नं. १ का सबै टोल जोखिममा रहेका छन् ।

सो वडाका १ सय ५० घरधुरीका ७ सय ५० परिवार प्रभावित हुने आँकलन गरिएको छ । यस्तै, वडा नम्बर १० मा एकता नगर, चटार गाउँ, रामनगर, जीवन ज्योति स्कुल आसपास, डुडुवा खोला आसपासका १ सय २० घरधुरीका ६ सय व्यक्ति प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

नगरपालिका क्षेत्रको करिब ६० किलोमिटर क्षेत्रमा डुडुवाखोला, किरणनाला, सानो डुडुवानाला, इटानाला, रोहिणी खोला बग्ने गर्छन् । खासगरी डुडुवा खोला, डुडुवा नाला र किरणनालाले यसक्षेत्रका सर्वसाधारणलाई बाढी र डुबानको जोखिममा पार्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ असार २६ गते मंगलबार