बर्दियाबाट ब्राउनसुगरसहित खजुराका दुई जना युवक पक्राउ



बाँके ।

लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट बाँके खजुराका दुई जना युवक पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका–६ बस्ने २३ वर्षीय पदमबहादुर बुढामगर र २५ वर्षीय शंकर विक रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

बर्दिया प्रहरीका अनुसार उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम बरामद भएको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका बुढामगर र विकलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । भारतबाट उनीहरूले लागूऔषध ब्राउनसुगर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार