बाँके ।
कोहलपुरको चप्परगौडी खड्कबार सडक खण्डमा बिरुवाहरू रोपिएको छ । कोहलपुर वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्रकुमार शाहको अगुवाइ र नगर प्रमुख पूर्णप्रसाद आचार्यको उपस्थितिमा सोमबार बिरुवाहरू रोपिएको हो ।
यसवर्ष कोहलपुर नगरपालिकाभित्र १० हजार विभिन्न प्रजातिका बिरुवाहरू रोप्ने अभियानअन्तर्गत चप्परगौडी खड्कबार सडक खण्डमा समेत बिरुवा रोपिएको नगर प्रमुख आचार्यले बताए ।
‘नगरपालिकाको यस वर्ष १० हजार बिरुवाहरू रोप्ने अभियान अनुसार नै यहाँ बिरुवाहरू रोपिएको हो,’ उनले भने, ‘रोपिएका बिरुवाहरूलाई संरक्षण गर्ने जिम्मेवारी नगरपालिकाको मात्र होइन । तपाई हामी सबैको हो । खासगरी स्थानीयबासीले यसको जिम्मेवारी लिनुपर्छ ।’
बिरुवा संरक्षणका लागि ७ लाख ५० हजार रुपैयाँबराबरको ट्रिगार्डसमेत सहयोग गरेकोमा स्थानीय र विभिन्न संघसंस्थाहरूलाई नगर प्रमुख आचार्यले आभार व्यक्त गरे ।
वडा नम्बर १२ का अध्यक्ष शाहले पहिलो चरणमा सोमबार चप्परगौडी खड्कबार सडक खण्डमा ३ सय ५० वटा बढी विभिन्न प्रजातिका विभिन्न बिरुवाहरू रोपिएको जानकारी दिए । पहिलो चरणमा चप्परगौडी खड्कबार सडक खण्डको ग्रिन बेल्टमा बिरुवाहरू रोपिए पनि क्रमशः अब वडाका अन्य स्थानहरूमा पनि रोपिने उनले बताए ।
वडाअध्यक्ष शाहका अनुसार स्थानीय तथा विभिन्न संघसंस्थाहरूले रोपेका बिरुवा संरक्षणका लागि ७ लाख ५० हजार रुपैयाँबराबरको ट्रिगार्ड सहयोग गरेका छन् । वृक्षरोपण कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी विक, स्थानीयबासी, नगर प्रहरी, ज्ञान ज्योति विद्यालयका विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
केही दिनअघि मात्रै लामो दूरीको बसपार्क परिसरमा वृक्षरोपण गरेर यसवर्षको वृक्षरोपण अभियानको शुम्भारभ गरिएको थियो । कोहलपुर नगरपालिकाले यस वर्ष बजार क्षेत्रभित्र र सबै वडामा गरेर १० हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्