अझै खुलेन कर्णाली राजमार्ग, यात्रुलाई सास्ती



बाँके ।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको कालीकोट खण्डमा तीन ठाउँमा गएको पहिरो पन्छाउन बाँकी रहेकाले आइतबारसम्म पनि राजमार्ग सञ्चालन हुन नसकेको हो ।

राजमार्गको दैलेख खण्डमा अवरुद्ध भएको सडक भने सञ्चालनमा आइसकेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कालीकोटको शुभकालिका गाउँपालिका–१, गगने खोला, खाँडाचक्र नगरपालिका–२, उम्ल बजार र तिलगुफा नगरपालिका–६, टिमुरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (एसपी) विनोद शर्माले जानकारी दिए । ‘अहिलेसम्म कर्णालीमा मानवीय क्षति भएको छैन । कर्णाली राजमार्गको तीन ठाउँमा अवरुद्ध छ,’ उनले भने, ‘अवरुद्ध सडकको पहिरो हटाउने काम भइरहेको छ ।’

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीदेखि सुर्खेत आउने सवारी साधनहरू बीच बाटोमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउनका लागि स्थानीय पालिकासहित सडक विभागको डोजर परिचालन गरिएको छ ।

कर्णाली राजमार्गको दैलेख खण्ड भने अवरुद्ध भएको छैन । शनिबार खसेको पहिरो पन्छाइएको छ । निरन्तर वर्षा भए पनि सडक अवरुद्ध नरहेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल दाहालले जानकारी दिए ।

उनका अनुसार दैलेखमा पर्ने मध्यपहाडी लोकमार्ग खण्ड, दैलेख–सुर्खेत सडक खण्ड नियमित सञ्चालनमा छन् । जाजरकोटमा पनि हालसम्म सडक अवरुद्ध भएको छैन ।

छिन्चु–जाजरकोट सडक खण्ड नियमित चलेको छ । जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने पूर्वी जाजरकोटको भागमा पनि अवरुद्ध नरहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा पनि कुनै अवरोध छैन । जिल्लाका भित्री सडकहरूमा पनि सवारी साधन चलेको उनले जानकारी दिए । यस्तै रुकुम पश्चिमको मध्यपहाडी खण्ड, सल्यानको बालुवासंग्रही–खलंगा खण्ड पनि सुचारु रहेका छन् ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार