खजुरा आइपुगे देशी विदेशी साहित्यकार



कोहलपुर

खजुरा प्रज्ञा प्रतिष्ठानले आजदेखि दुईदिने राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा काव्य गोष्ठीको आयोजना गर्दै छ । विभिन्न साहित्यिक कार्यक्रमसहित आयोजना गर्न लागिएको सम्मेलन तथा काव्य गोष्ठीको सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष डा. इन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

सीमावर्ती सहरका भारतीय लेखक साहित्यकारसहित स्वदेशका विभिन्न सहरहरूबाट साहित्यकारको कार्यक्रममा उपस्थिति रहने जनाइएको छ । मित्रराष्ट्र भारत तथा नेपालका काठमाडौँ, चितवन, बर्दघाट, धनगढी, महेन्द्रनगरलगायतका स्थानबाट पाहुनाहरू आउँदै छन् । टाढाबाट आउने पाहुनाहरू बिहीबार बेलुकी नै खजुरा आइपुगेका छन् भने कोही आउनेक्रम जारी रहेको भण्डारीले जानकारी दिए ।

उद्घाटन सत्रमा विभिन्न स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । अन्य साहित्यिक तथा सामाजिक संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने र खजुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए ।

कला, साहित्य, संगीतका माध्यमले राजनीतिक खबरदारी गर्न पनि जरुरी भइसकेको भण्डारीको भनाइ छ । ‘लेखक साहित्यकार भनेका समाजका सचेत वर्ग भएकाले राजनीतिलार्ई पनि निर्देशित गर्न साहित्यिक सक्रियता बढाउनु आवश्यक छ,’ उनले भने, ‘हामी राजनीतिक खबरदारी गर्दै साहित्यिक गतिविधि गर्छौं ।’

दुईदिने सम्मेलनका अवसरमा काव्य पाठ, साहित्यिक विमर्श, कार्यपत्र प्रस्तुतिलगायतका कार्यक्रम राखिएको छ । २२ गते शनिबार खजुरा घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिनेछ । पालिका सरकार स्थानीय भाषा, साहित्य, कला, संस्कृतिको विकास र संवद्र्धन गर्ने कुरामा प्रतिबद्ध रहेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले बताए ।

खजुरा गाउँपालिका बहु भाषा, साहित्य, कला र संस्कृति भएको पालिका भएकाले यसको संरक्षण र विकास आवश्यक भएको प्रतिष्ठानको संरक्षकसमेत रहेका अध्यक्ष तुफानको भनाइ छ । प्रतिष्ठान आफ्नो उद्देश्यमा प्रतिबद्ध रहेको पनि उनले जनाए ।

गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले स्थानीय भाषा, साहित्य, कला, संस्कृति संरक्षण गर्ने हेतुले प्रतिष्ठान गठन भएकाले पालिकाले उचित बजेटको व्यवस्था गर्दै आएको उनले जनाइन् । गत आवमा कार्यालय, कर्मचारी व्यवस्थापनसहित साढे १३ लाख रुपैयाँ बजेट छुट्याएको गाउँपालिकाले विभिन्न प्राज्ञिक गतिविधिका लागि यस आवमा १० लाख रुपैयाँ बजेट छुट्याएको छ । कार्यालय र कर्मचारी व्यवस्था भइसकेकाले अन्य शीर्षकमा गत आवको बजेट नघट्ने गरी प्रतिष्ठानका लागि बजेट विनियोजन गरिएको उपाध्यक्ष मल्लले बताइन् ।

पालिकाले निर्माणाधीन बहुउद्देश्यीय हलमा प्रतिष्ठानको कार्यालय व्यवस्थापन गरिने पनि जनाएको छ । स्थानीय भाषा, साहित्य, कला, गीत–संगीत, संस्कृति संरक्षण तथा संवद्र्धनका लागि खजुरा गाउँपालिकाद्वारा २०७९ सालमा गठित प्रतिष्ठानले भाषा, साहित्य, कलाका क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको छ । गठन भएलगत्तै प्रतिष्ठानले खजुराको बृहत् इतिहास नामक ऐतिहासिक पुस्तकसमेत प्रकाशन गरेको थियो ।

प्रतिष्ठानले खजुरामा प्रतिभाको खोजी, स्थानीय कला प्रतियोगिता, जातजाति धर्म सम्प्रदायका सांस्कृतिक प्रदर्शनीमूलक कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ । गत जेठ ५ गते नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानसँको सहकार्यमा प्रतिष्ठानले लोकगीत संगीत प्रशिक्षण कार्यक्रम गरिएको थियो । आगामी दिनमा पनि प्रकाशनलाई निरन्तरता दिइनुका साथै साहित्यिक पुरस्कारको समेत स्थापना गरिने अध्यक्ष भण्डारीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ असार २१ गते शुक्रबार