बाँके ।
बर्दियाको बाँसगढीबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित घरबाटै श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले टोलीले घरबाटै श्रीमान् श्रीमतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–४ लक्ष्मणपुरका २८ वर्षीय उमेश खत्री र उनकी श्रीमती २५ वर्षीया अनिता खत्री रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । लागूऔषध ब्राउनसुगरको कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध र मोतिपुरको प्रहरी टोली घरमै पुगेको थियो ।
संयुक्त प्रहरी टोलीले घरमा खानतलासी गर्दा भान्सा घरको झ्यालमा बट्टाभित्र लुकाइछिपाई राखेको अवस्थामा लागूऔषध ब्राउनसुगर फेला परेको हो । १० ग्राम ८८० मिलिग्राम ब्राउनसुगर बट्टाभित्र लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालले जानकारी दिए ।
स्थानीयका अनुसार उनीहरू लामो समयदेखि लागूऔषध ब्राउनसुगरको कारोबारमा संग्लन रहेका थिए । खानतलासीको क्रममा लागूऔषधसँगै डिजिटल तराजु एक थान र १२ हजार ९६० रुपैयाँ समेत बरामद भएको डिएसपी अर्यालले बताए ।
श्रीमान् श्रीमती दुबै जनालाई इलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्