कोहलपुरले ल्यायो १ अर्ब ५ करोडको बजेट



बाँके ।

कोहलपुर नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुबेदीले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेकी हुन् ।

कोहलपुर नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब ५ करोड ९ लाख २७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । जसमा चालुतर्फ ६७ करोड २५ लाख ९३ हजार २ सय ८० रुपैयाँ अर्थात ६४ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३७ करोड ८३ लाख ३३ हजार ७ सय २० रुपैयाँ विनियोजन गरिएको छ ।

वडास्तरबाट छनोट गरिने योजनाका लागि ७ करोड ४७ लाख विनियोजन गरिएको छ । जसमा योजना र कार्यक्रमका आधारमा प्रत्येक वडामा ४७ देखि ६० लाखसम्म बजेट विनियोजन गरिने उपप्रमुख सुबेदीले बताइन् । आर्थिक विकासका लागि नगरस्तरीय योजनाका लागि १ करोड ५ लाख रकम विनियोजन गरिएको छ ।

त्यसैगरी, सामाजिक विकासका लागि सामाजिक विकास समिति र शाखाहरूमार्फत खर्च गर्नेगरी एकमुष्ठ ८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्रमा कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराउनका लागि बजेटको व्यवस्था गरिएको उपप्रमुख सुबेदीले बताइन् । महिला, दलित, जनजाति तथा लक्षित वर्गको सशक्तिकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताइन् ।

थोरै लगानीबाट धेरै प्रतिफल हासिल गर्नुपर्ने भएकाले सोही अनुसार बजेट विनियोजन गरिएको उपप्रमुख सुबेदीले बताइन् ।

उपप्रमुख सुबेदीले नगर सभामा प्रस्तुत गरेको बजेटमाथि नगर सदस्यहरूले छलफल गर्नेक्रम जारी छ । आगामी असार २९ गते बस्ने दोस्रो नगर सभामा छलफलपछि बजेट पारित हुने उपप्रमुख सुबेदीले जानकारी दिइन् ।

प्रकाशित मिति : २०८१ असार १२ गते मंगलबार