आगामी १० गते तोकियो कोहलपुरको १५औँ नगरसभा



कोहलपुर ।

कोहलपुर नगरपालिकाले आगामी असार १० गते १५औँ नगरसभा गर्ने निर्णय गरेको छ । हालै बसेको कोहलपुर नगर कार्यपालिका बैठकले आगामी वर्षको बजेट एवम् नीति तथा कार्यक्रम सार्वजनिक गर्नेगरी असार १० गते नगरसभाको बैठक गर्ने निर्णय गरेको हो ।

नगरसभाको पहिलो बैठक असार १० गते सोमबार नगरसभा हलमा दिनको साढे १२ बजेदेखि सुरु हुने नगरपालिकाले जनाएको छ । कार्यपालिका बैठकले नगरसभाको मिति तोक्दै सोही अनुरूप नगरसभा सदस्यलाई जानकारी गराउने निर्णय गरेको छ ।

कार्यपालिका बैठकले नगरसभाको कार्यसूचीसमेत सार्वजनिक गरेको छ । नगरसभामा नगरपालिकाको आर्थिक विधेयक, २०८१ तथा विनियोजन विधेयक, २०८१ प्रस्तुत गरिनुका साथै आव २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ । त्यस्तै, चालू आवमा नगर कार्यपालिकाले गरेका निर्णय तथा सिफारिस एवम् दर्ता भएका समसामयिक प्रस्तावमाथि छलफल गरिने बैठकले निर्णय गरेको छ । नगरसभामा अन्य विविध विषयमाथि छलफल हुनेसमेत जनाइएको छ ।

कोहलपुर नगरपालिकाले आगामी वर्षको बजेटको आकार केही घटाउने तयारी गरिरहेको छ । चालू आवमा १ अर्ब १२ करोडको अनुमानित बजेट पेस गरेको कोहलपुर नगरपालिकाले आगामी आवको बजेट केही घटाएर बढीमा ९५ करोडसम्म झार्ने तयारी गरिएको जनाएको छ ।
अपेक्षा गरिएअनुसारको राजस्व उठाउन नसकिएको र संघीय समानीकरण अनुदान तथा राजस्व बाँटफाँटको रकम प्राप्त हुन नसकेकाले आगामी वर्षको बजेट घटाउनुपर्ने अवस्था आएको नगरपालिकाको भनाइ छ ।

कोहलपुर नगरपालिकाले केही समयअघिदेखि नै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको तयारी सुरु गरेको थियो । यसैक्रममा राजस्व परामर्श समितिसँग छलफल गर्ने, योजना छनोट गर्ने, सिलिङ तोक्नेलगायतका काम भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । आगामी बजेटकै सन्दर्भमा विज्ञ तथा सरोकारवालाहरूसँग छलफल तथा परामर्श गरिएको छ । आन्तरिक स्रोत वृद्धि गर्ने तथा राजस्व उठाउने कुरामा नगरपालिकाले जोड दिएको छ ।

ढकालका अनुसार यस वर्ष कोहलपुरमा संघबाट आउनुपर्ने करिब १३ करोड रुपैयाँ रोकिएको छ । यसले गर्दा कतिपय सम्पन्न भइसकेका योजनाहरूको समेत भुक्तानी हुन सकेको छैेन भने यसबाट नगरपालिकाको आगामी बजेट पनि प्रभावित हुने भएको हो ।

कोहलपुर नगरपालिकाका सन्दर्भमा गत आवको राजस्व अनुमानमा धेरै अन्तर आएकाले पनि त्यसले यस वर्षको बजेटलाई प्रभावित गर्ने निश्चित देखिएको छ । ‘गत आवमा हामीले राजस्व अनुमानको सही आँकलन गर्न सकेनौँ,’ प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘आधाभन्दा बढीको फरक देखियो ।’

गत वर्ष आन्तरिक राजस्व आम्दानी करिब १६ करोड अनुमान गरिएकोमा अहिलेसम्मको अवस्थामा जम्मा करिब ६ करोडमात्र संकलन हुन सकेको उनले जानकारी दिए । ‘यो त आनका तान फरक प¥यो,’ उनले भने, ‘त्यसैले यस वर्ष हामीले वस्तुस्थितिको मूल्यांकन गरेर करिब ९ करोड आन्तरिक राजस्व संकलनको अनुमान गरेका छौँ ।’ आर्थिक वर्षको अन्त्यसम्ममा करिब ८–९ करोडको हाराहारीमा आन्तरिक राजस्व संकलन हुनसक्ने पनि उनले जानकारी दिए ।

‘गत आवमा १ अर्ब १२ करोड (हिउँदे अधिवेशनसहित)को बजेट आएको थियो,’ प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘यस वर्ष घटेर ९२ देखि ९५ करोडको बजेट आउने अनुमान छ ।’ यो बजेट संघीय ससर्त अनुदानसहितको बजेट हो ।

समग्र पालिकाकै बजेटको आकार खुम्चिएपछि यस वर्ष वडाका बजेटहरूमा पनि भारी मात्रामा कटौती हुने सम्भावना देखिएको छ । गत आवमा कोहलपुरका वडाहरूमा करिब ७०–७२ करोड बजेट वितरण भएकोमा अहिले बाँडफाँट गर्र्न सकिने बजेट जम्मा १५–१६ करोड मात्र हुन सक्ने ढकालले बताए ।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतबार