कैलाली ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले शनिबार आगामी आर्थिक वर्षका लागि साढे ३१ अर्बभन्दा बढीको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
मन्त्री पालले असार १ गते प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्थाअनुसार बजेट भाषण गरेका
हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ अर्ब ७ करोड रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरेको मन्त्री पालले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजश्व परिचालन एक अर्ब ६० लाख १५ हजार, संघीय सरकारको राजश्व बाँडफाँडतर्फ ९ अर्ब ९९ करोड, संघीय रोयल्टीबाट ४ करोड ४० लाख, वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड २७ लाख, चालु वर्षको बजेटबाट वचत हुने ६ अर्ब १५ करोड, संघीय सरकारले दिने ससर्त अनुदानतर्फ ३ अर्ब १३ करोड, समपूरक अनुदान १ अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड हुने अनुमान गरिएको छ ।
सरकारले भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा धेरै १३ अर्ब ३५ करोड, भूमि व्यवस्था कृषि तथा सहकारी क्षेत्रमा तीन अर्ब ९ करोड, उद्योग पर्यटन वन तथा वातावरण क्षेत्रतर्फ २ अर्ब ४ करोड, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रतर्फ ६ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।
उनले आगामी आर्थिक वर्षदेखि प्रदेशको आम्दानी बढाउनका लागि करका दरसमेत हेरफेर गरेका छन् ।
घरजग्गालगायत क्षेत्रको करका दर हेरफेर गरेको मन्त्री पालले बताए । उनले टाँगा र रिक्सा जस्ता यातायातका साधनमा समेत कर लगाउने र स्थानीय तहसँग बाँडफाँट गर्ने व्यवस्था गरेका छन् । प्रदेशका निजी व्यवसायीलाई औपचारिक अर्थतन्त्रमा ल्याउने गरी व्यवसाय नवीकरण वा दर्ताको व्यवस्था गरिएको मन्त्री पालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्