‘विचार गर छुनलाई’बाट मञ्जुको ‘कमब्याक’



दाङ । 

नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका मञ्जु पौडेलले ‘विचार गर छुनलाई’ बोलको नयाँ गीत बजारमा ल्याएकी छन् । श्रीकृष्ण बम मल्लको लय तथा शब्द रहेको गीतको आवाजमा मञ्जुलाई गायक प्रताप दासले साथ दिएका छन् ।

स्टेज उद्घोषिकाका रूपमा समेत मञ्जु चर्चित छन् । लामो समयपछि ‘विचार गर छुनलाई’ ल्याउँदै उनले कमब्याक गरेकी हुन् । हत्तपत्त गीत नल्याउने, ल्याएपछि बजार तताउने मञ्जुको विशेषता नै हो ।

यसपटक पनि उनी आशावादी छन् । पछिल्लो युवा पुस्तालाई मध्यनजर गर्दै ल्याइएको यस गीतमा माया प्रेम गरेपछि एकअर्कालाई धोका दिन नहुने सन्देश दिन खोजिएको छ ।

कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा गायक प्रतापसँगै गायिका मञ्जुकी छोरी स्नेहा पौडेलको अभिनय रहेको छ । भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

मञ्जु पौडेलको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतले छोटो समयमै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

कुनै समय तीज गीत होस् कि होलीको गीत या बेमौसमी सबै क्षेत्रमा मञ्जुले एकछत्र राज गरेकी थिइन् । उनले गाएको ‘धुँवा सरी’ गीतले उनको चर्चा चुलिएको थियो ।

दर्जनौँ गीत रेकर्ड गराएकी मञ्जुले तीज र पञ्चे बाजाका थुप्रै गीतमा स्वर दिएकी छन् ।

‘स्टेज क्वीन’को नामले पनि परिचित मञ्जुलाई स्वदेश तथा विदेशका विभिन्न कार्यक्रममा उद्घोषिकाका रूपमा समेत आमन्त्रण आउने गरेको छ । उनी एक चर्चित स्टेज उद्घोषिका पनि हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ असार २ गते शनिबार