बाँके ।
जल तथा मौसम विज्ञान विभागले पश्चिम तराईका भूभागमा अत्यधिक गर्मी बढ्ने र लू चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले विशेष बुलेटिन जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो । विभागका मौसमविद् बिनु महर्जनले मुख्यगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिइन् ।
विभागले जारी गरेको बुलेटिनमा पनि सुदूरपश्चिम र लुम्बिनीका तराईका जिल्लामा जेठ २८ गतेसम्म लू चल्ने सम्भावना रहेको उल्लेख रहेको
छ । ‘तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ ।
यस वर्षको सबैभन्दा बढी अधिकतम तापक्रम नेपालगन्जमा ४४.२ डिग्री सेल्सियस र धनगढीमा ४४.१ डिग्री सेल्सियस मापन भएको थियो । देशका धेरै स्थानमा आइतबार तापक्रम बढेको छ । विशेष गरी तराई क्षेत्रमा तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार सबैभन्दा बढी तापक्रम धनगढीमा ४२.९ डिग्री सेल्सियस मापन गरिएको थियो । शनिबार धनगढीको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो ।
महाशाखाले आइतबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस मापन गरिएको
छ । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४१.८ डिग्री सेल्सियस रहेको थियो ।
आइतबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.४, दिपायलको ४०.२, घोराहीको ३९.३, भैरहवाको ३८.२, जनकपुरको ३८.०, सिमराको अधिकतम तापक्रम ३७.७ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार वीरेन्द्रनगर र दिपायलको अधिकतम तापक्रम समान ३९.५, घोराहीको ३७.७, भैरहवाको ३८.२, जनकपुरको ३७.८, सिमराको अधिकतम तापक्रम ३७.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आइतबार काठमाडौंको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस मापन गरिएको थियो । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३१.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
तातो हावा तथा तातो लहरले थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने चिकित्सक बताउँछन् ।
यसबाट जोगिन गर्मीको समयमा दिउँसो घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जूस, सर्वत आदि प्रशस्त मात्रामा पिउने गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्