बाँके ।
लुम्बिनी र कर्णाली प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूको प्रथम सम्मेलन १२ बुँदे गाभर भ्याली घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सोमबार घोषणापत्र जारी गर्दै समापन भएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।
सम्मेलन बाँकेको गाभर भ्यालीमा आइतबारदेखि सुरु भएको थियो । घोषणापत्रमा आगामी नीति तथा कार्यक्रम बजेटमा पुस्तकालयका लागि बजेट व्यवस्थापन गर्न तीनै तहका सरकारसँग माग गरिएको छ ।
एक पालिकामा कम्तिमा एक पुस्तकालयको अवधारणालाई प्रदेश सरकार तथा स्थानीय तहसँगको सहकार्यमा कार्यान्वयन गर्न पहल गर्ने, दर्ता गरिएका तर सञ्चालनमा नरहेका पुस्तकालयलाई पुनः सञ्चालन गर्न प्रोत्साहित गरिने नीतिको अबलम्बन गर्न माग समेत घोषणापत्रमा गरिएको छ ।
आइतबार उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूले पाठकहरूमा पठन संस्कृतिको विकास गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले पछिल्लो समय पुस्तकालय गएर अध्ययन गर्नेहरूको कमी रहेकोमा चिन्ता व्यक्त गरे । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले हरेक सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूले पाठकहरूमा पठन संस्कृतिको विकास गर्ने वातावरण तयार गर्नुपर्ने बताए ।
‘आजका बालबालिकाहरूलाई अध्ययन गर्ने वातावरण निर्माण गर्ने मात्र नभई आम नागरिकहरूलाई समेत पुस्तकालयमा गएर केही न केही सिक्न, अध्ययन गर्न आकर्षण गर्नुपर्छ’ उनले भने, ‘सम्मेलनले स्थानीय, प्रदेश त संघीय सरकारलाई बजेट विनियोजन गर्न सक्ने खालको प्रेरणादायी नीति, विधिसहितको घोषणा पत्र ल्याउनुपर्छ ।’
हरेक पुस्तकालयमा राजनीति गन्ध देखा परेकोले त्यो वातावरणको निर्मुल हुनुपर्नेमा नगर प्रमुख आचार्यले जोड दिए । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका उपसचिव यादव चन्द्र निरौलाले मन्त्रालयले सामुदायिक तथा सार्वजनिक पुस्तकालयलाई आवश्यक नीति निर्माण, प्रविधी एवम् पुस्तकालय प्रेमी, शिक्षक लगायतलाई तालिम दिदैँ आएको जानकारी दिए ।
नेपाल पुस्तकालय संघका महासचिव राजेन्द्र पाण्डेले संघले संघीयतालाई कार्यान्वयन गर्न सातवटा प्रदेशमा सम्मेलन भइरहेका बताए । सबै प्रदेश सम्मेलन भएपश्चात नेपाल पुस्तकालय महासंघको अवधारणामा जान लागेको उनले जानकारी दिए ।
‘देशैभरी रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूका हरेक पीडा समस्या छन्’ उनले भने, ‘पुस्तकालय सञ्चालनमा आएपनि कर्मचारीको व्यवस्थापन गर्न निकै समस्या परिरहेको छ ।’ सम्मेलनमा लुम्बिनी र कर्णाली प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालयबाट प्रतिनिधिहरू सहभागी भएका थिए ।
सो अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले केही विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत प्रदान गरेको थियो । ज्ञानज्योति माध्यमिक विद्यालय कोहलपुर बगियामा क्रमश कक्षा २ र ३ मा अध्यनरत एक÷एक जना विद्यार्थीहरूलाई एक÷एक थान झोला, एक÷एक दर्जन कापी र एक÷एक दर्जन कलम हस्तान्तरण गरिएको थियो ।
भट्टराईको नेतृत्वमा कार्यसमिति
चेतकान्त भट्टराईको अध्यक्षतामा सामुदायिक तथा सार्वजनिक पुस्तकालय लुम्बिनी प्रदेशको ११ सदस्सीय नयाँ कार्यसमिति गठन गरिएको छ । सोमबार बाँकेको गाभर भ्यालीमा भएको प्रथम सम्मेलनले ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष समेत रहेका भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ओभा पाठक (दाङ), सचिवमा गोबिन्दप्रसाद रेग्मी (बर्दिया), सहसचिवमा प्रकाश सुबेदी (रूपन्देही) र कोषाध्यक्षमा राजेश कुमार पाण्डेय (कपिलबस्तु) चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा शारदा कुमारी आचार्य (बर्दिया), दुर्गाप्रसाद पौडेल (कपिलबस्तु), ओम केसी (रोल्पा), नन्दलाल शर्मा (रुकुम पूर्व), कमल भट्टराई (अर्घाखाँची) र सुरज केसी (पश्चिम नवलपरासी) रहेका छन् ।
सम्मेलनले सात सदस्सीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिको संयोजकमा पुनाराम पोखरेल (रूपन्देही) सदस्यहरूमा बलराम यादव (बाँके), सुशिल गौतम (दाङ), गोबिन्द पाण्डे (बाँके), शशी पन्थी (गुल्मी), गोबिन्द भण्डारी (रूपन्देही) र युवराज पौडेल (पाल्पा) चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्