लामो खडेरीपछिको वर्षाले ल्यायो खुसियाली



कोहलपुर ।

लामो समयको खडेरीपछि गत बुधबार र हिजो शनिबार परेको वर्षाले पश्चिमी तराईका जिल्लाहरूमा खुसियाली छाएको छ । गत बुधबार र शनिबार पश्चिमी तराईका जिल्लाहरूमा परेको पानीका कारण ठूलो राहत महसुस गरिएको छ ।

लामो समय खडेरी झेल्दै आएका पश्चिमी तराईका किसान तथा सर्वसाधारण पानी परेपछि निकै हर्षित भएका छन् । गत बुधबार र हिजो शनिबार पश्चिम तराईका बाँके, बर्दियामा राम्रो वर्षा भएको छ । जसले यहाँका बासिन्दालाई ठूलो राहत दिएको छ ।

गत बुधबार पनि पश्चिमी तराईका बाँके र बर्दियामा हल्का वर्षा भएको थियो । लामो खडेरीपछि भएको पहिलो वर्षाले खासै प्रभाव दिन नसके पनि पुनः शनिबार आएको वर्षाले भने वातावरणमा शीतलता प्रदान गर्नुका साथै सबैतिर राहतको महसुस भएको छ । शनिबार करिब दुई घन्टा बाँकेमा निरन्तर वर्षा भएको थियो । करिब साढे ११ बजेदेखि सुरु भएको वर्षा साढे १ बजेसम्म निरन्तर परेको थियो ।

लामो समयदेखि बेलाबेला पानी पर्ने संकेत देखिने गरेको भए पनि पर्न भने सकेको थिएन । जसले वातावरणमा एकाएक गर्मी बढाएको थियो । वैशाखको मध्यतिर नै यहाँको तापक्रम अहिलेसम्मकै सबैभन्दा बढी ४०.२ डिग्री मापन गरिएको थियो ।

बाँकेमा गत बुधबारको वर्षा ३०.२ एमएल मापन गरिएको थियो भने शनिबार १५.० एमएल मापन गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जले जनाएको छ । ‘लामो खडेरीपछि शनिबार राम्रो वर्षा भएको छ,’ फिल्ड कार्यालय नेपालगन्जकी इन्चार्ज मीना शिवाकोटीले भनिन्, ‘यसले सबैलाई राहत दिएको छ ।’ पश्चिमी वायुको प्रभाव बढ्दै गएकाले यो वर्षा भएको उनले जानकारी दिइन् ।

कोहलपुरका अगुवा किसान बेजुवा थारूले वर्षा भएकोमा निकै खुसी व्यक्त गरे । यो वर्षाले विभिन्न तरकारी तथा नगदेबाली लगाएका किसानलाई ठूलो राहत पु¥याएको उनले बताए । ‘यो वर्षा त पानीको नभएर अमृतको वर्षा हो,’ बेजुवाले भने, ‘यसले कसैलाई अहित गरेको छैन, सबैलार्ई फाइदै गरेको छ ।’ किसानका लागि पानीको अझै आवश्यकता भए पनि चाहेअनुसार पानी पर्न नसकेको उनले बताए । यतिबेला व्यावसायिक किसानले खेतबारीमा विभिन्न तरकारी लगाएका छन् । चैते धान लगाउने किसानलाई पनि पानीले ठूलो राहत दिएको छ । लामो खडेरीका कारण पानी पु¥याउन नसकिरहेका किसानलाई वर्षाले ठूलो मद्दत गरेको छ ।

लामो समयदेखि पानी पर्न नसक्दा आगलागी र वन डढेलोका घटनामा पनि बढोत्तरी भएको थियो । लामो खडेरीका कारण मुलुकमै सबैभन्दा बढी यसपटक आगलागी र डढेलोका घटना भएका थिए । यो वर्षाले वन डढेलो नियन्त्रणमा निकै सघाउ पु¥याएको डिभिजन वन कार्यालय शमशेरगन्जका अधिकृत सुशील सुबेदीले जानकारी दिए ।

‘हामी वन कर्मचारीहरूमा त खुसियाली छाएको छ,’ अधिकृत सुबेदीले भने, ‘पानी परेपछि मैले त ट्यांकर ड्राइभरलाई दुई दिन छुट्टी नै दिएको छु ।’ बुधबारको वर्षाले वनको डढेलो धेरै हदसम्म निभिसकेको र शनिबारको वर्षाले त डढेलो पूरै नियन्त्रणमा आएको उनले बताए । ‘बुधबारकै वर्षाले डढेलो नियन्त्रण भइसकेको थियो,’ सुबेदीले भने, ‘यो वर्षाले केही ठूला ठुटाहरूमा आगो बचेको भए त्यो पनि निभाउँछ ।’

केही दिनदेखि आकाश बादलिएर पानी पर्ने संकेत देखिएको भए पनि पानी भने पर्न सकिरहेको थिएन । तर शनिबार परेको राम्रो वर्षाले वन डढेलो पूरै नियन्त्रणमा आएको सुबेदीको भनाइ छ । अब फेरि वनमा आगो लागे पनि पहिलेजस्तो डढेलो अनियन्त्रित ढंगले फैलिन नसक्ने उनले बताए । ‘२/४ दिन चर्का घाम लागेपछि फेरि कसैले वनमा आगो लगाइदियो भने डढेलो फेरि पनि लाग्न सक्छ,’ सुबेदीले भने, ‘तर पनि अब पहिले जस्तो अनियन्त्रित ढंगले बढ्दैन ।’

लामो समयको खडेरीकै कारण यस वर्ष बाँकेलगायत मुलुकभरि नै अत्यधिक डढेलो लागेको थियो । बाँकेको शमशेरगन्जमा मात्र ५ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको सुबेदीले जानकारी दिए । माघ महिनायता वर्षा हुन सकेको थिएन । जसका कारण मौसममा सुक्खापन बढेको थियो भने पानीका स्रोतहरू सुकेका थिए ।

‘यसपटक वनमा करिब ४५ दिनभन्दा बढी निरन्तर डढेलो लाग्यो,’ अधिकृत सुबेदीले भने, ‘७/८ वर्षदेखि वनमा जम्मा भएको पतकर र लामो समयको खडेरीले गर्दा यसपटक भिषण डढेलो लाग्यो, हामी कर्मचारीले पनि पाउनु दुःख पायौं, अब त धेरै राहत भएको छ ।’ विगतमा प्रत्येक महिनाजसो पानी पर्ने गरे पनि यसपटक चार/पाँच महिनासम्म पानी पर्न नसक्दा डढेलो लम्बिएको उनको भनाइ छ ।

खडेरीकै कारण बढेको चर्को गर्मीले मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेको थियो । एकातिर गर्मी मौसम अर्कातिर चारैतिरका वनमा लागेको डढेलोका कारण वातावरणमा फैलिएको धुलो र धुवाँले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको स्वास्थ्यकर्मीहरूको भनाइ रहँदै आएको थियो । यो वर्षाले सबैलाई राहत मिलेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

प्रकाशित मिति : २०८१ वैशाख ३० गते आइतबार