नेपालगन्जमा क्षयरोगका बिरामीको उपचार गरिँदै आएको अस्पतालको भाडाको भवन खाली गर्न घरमालिकले दबाब दिइरहेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको स्तरोन्नति गरेर लुम्बिनी प्रदेशस्तरीय केन्द्र बनाउनका लागि नयाँ भवन निर्माण निर्माण हुँदैछ । भवन निर्माणको जिम्मा लिएको कम्पनीले ढिलासुस्ती गर्दा तीन वर्षमा निर्माण सक्ने सम्झौता रहेकोमा एक वर्षमा मात्र १२ प्रतिशत निर्माणको काम भएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जमा क्षयरोगका बिरामीको उपचार गरिँदै आएको अस्पतालको भवनको हालत यति जीर्ण छ कि भवनको छत चुहिन्छ । आउने वर्षामा कसरी सेवा दिने भन्ने चिन्तामा अस्पताल व्यवस्थापन पक्ष छ । भाडाको भवन खाली गर्न घरमालिकले दबाब दिइरहेका छन् । उता, अस्पतालको आफ्नै भवन निर्माणको जिम्मा लिएको कम्पनीले लापरबाही गरेर काममा ढिलासुस्ती गरिरहेको छ । तीन वर्षमा निर्माण सक्ने सम्झौता रहेकोमा एक वर्षमा मात्र १२ प्रतिशत निर्माणको काम भएको छ ।
यो अवस्था हो नेपालगन्जस्थित क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको स्तरोन्नति गरेर लुम्बिनी प्रदेशस्तरीय केन्द्र बनाउनका लागि नयाँ भवन निर्माण निर्माण हुँदैछ । तर, स्वास्थ्य संस्थाजस्तो संवेदनशील संस्थाको भवन निर्माणमा ठेकेदारले ढिलासुस्ती गरिरहेको छ । उक्त जिम्मा लिएको कम्पनीहरू नारायण केआर जेभी हुन् ।
वहुवर्षीय योजना रहेको उक्त भवन निर्माणका लागि यसवर्ष दुई करोड ५० लाख बजेट आएकोमा हालसम्म ७० लाख मात्रै खर्च भएको नेपालगन्जस्थित सहरी विकास तथा भवन कार्यालयका प्रमुख इन्जिनियर रामआश्रय शाह बताउँछन् । उनले आफूहरूले टिबी अस्पतालको भवन निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिइरहेको बताए । भुक्तानीका लागि तोकिएको तालिकाभन्दा अघि भुक्तानी नभएको भन्दै बीचमा निर्माण कम्पनीले काम नै रोकेको उनले बताए । आफूहरूले कामको रफ्तार बढाउन निर्देशन दिइरहेको बताएका छन् ।
सरकारसँग सम्झौता गरी नेपालगन्जस्थित क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको व्यवस्थापन गरिरहेको टिबी नेपालका कार्यक्रम व्यवस्थापक हिक्मत खड्काले निर्माण कम्पनीको लापरबाहीले निर्माण कार्यमा ढिलाइ भइरहेको बताउँछन् । ‘हामीलाई जति सक्दो चाँडो भवन चाहिएको छ । चाँडो काम गरिदिनुप¥यो भन्दा पनि ठेकेदारले काम गर्न सकेको छैन्,’ खड्काले भने । उनले सहरी विकास तथा भवन कार्यालयले पनि प्राथमिकतामा राखेर उक्त भवनका लागि सहयोग गर्दा पनि निर्माण कम्पनीले पहिलो वर्ष राम्रो काम गर्न नसकेको बताए ।
अस्पतालको लागि जग्गको व्यवस्था गर्नेदेखि बजेट व्यवस्थापनमा भूमिका खेलेकी लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना दुई वटा कम्पनीले संयुक्तरूपमा ठेक्का लिएपनि काम गर्न नसक्नुमा उनीहरूको बीचको विवादले असर गरेको बताउँछिन् । कोहलुरमा रहेको केआर निर्माण कम्पनीले आफू पनि काम गर्न नसक्ने र काठमाडौँको कम्पनीलाई काम गर्न आउन नदिने गर्नुले पनि ढिलाइ भइरहेको पाइएको बताइन् । ‘हामीले पटक–पटक अनुगमन गरेर काममा तीव्रता दिन भनेका छौँ । कामअनुसारको भुक्तानीमा पनि कुनै समस्या छैन् । तर, एक वर्षको काम हेर्दा अस्पताल समयमा निर्माण हुन नसक्ने स्थिति देखिन्छ,’ प्रदेश सभा सदस्य केसीले भनिन् ।
केआर निर्माण सेवाका म्यानेजर सुरज वाग्ले भने आफूहरूले काम गरिरहेको र सम्झौताअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउँछन् । नेपालगन्जमा २०५२ सालमा क्षयरोग अर्थात् टिबीको विशेष अस्पताल सञ्चालनमा आएको थियो । तर, अस्पतालका लागि सरकारले आफ्नो संरचना नबनाएर भाडाको घरमा सञ्चालनमा ल्यायो । सुरुमा आइएनएफ र २०६० सालयता टिबी नेपालले उक्त क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र नाम दिइएको अस्पताल सञ्चालनको जिम्मा दिइएको थियो । तर, अस्पताल सञ्चालनमा रहेको भवन जीर्ण हुँदा वर्षामा चुहिने छतमुनि टिबीका बिरामीलाई राखेर उपचार गर्नुपर्ने अवस्था छ ।
अस्पताल निर्माणका लागि जग्गाको व्यवस्था गर्न सरकारले ध्यान नदिँदा लामो समय लाग्यो । कतिपय ठाउँमा जग्गाको व्यवस्था हुँदा पनि स्थानीयले टिबी अस्पताल सञ्चालन गर्न नदिने भन्दै अवरोध गरे । करिब २८ वर्षपछि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन गर्ने योजनासहित भवन निर्माण हुँदैछ । टिबी नेपालका कार्यक्रम व्यवस्थापक हिक्मत खड्काको अथक दबाब र लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसीको पहलले २ बिगाह जग्गा केन्द्रका लागि टुंगो लागेको थियो ।
२०८० चैत्र ८ मा तीन वर्षभित्र केन्द्रको भवन निर्माण गरिसक्ने गरी सम्झौता भएको थियो । तर एक वर्षमा भवनको करिब १२ प्रतिशत मात्रै काम सम्पन्न हुँदा केन्द्रको व्यवस्थापन पक्षलाई भवन निर्माण ढिलाइ भएमा कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘यही वर्षामा पनि कसरी जोगाउने भन्ने चिन्ता छ । बढी पानी प¥यो भने डुवान हुन्छ । छतहरू चुहिन्छन्,’ खड्काले मिसन टुडेसँग भने ।
अहिले केन्द्र सञ्चालन भइरहेको भवनमा टीबी परीक्षणका लागि चाहिने उपकरण राख्ने पर्याप्त कोठा छैनन् । बिरामीका कुरुवा बस्ने ठाउँ छैन् । शौचालय र पार्किङ व्यवस्थित छैन् । अस्पताल सञ्चालनका लागि चाहिने कुनै पनि मापदण्ड पूरा भएको छैन् । जीर्ण भवनका कोठाहरू अति साँघुरा छन् ।
केन्द्रको नयाँ भवनका लागि जग्गा व्यवस्थापन गर्दा पनि लामो संघर्ष गर्नुपरेको र अहिले भवन निर्माणमा पनि ढिलाइ भइरहेको खड्का बताउँछन् । केन्द्रका लागि नेपालगन्ज र कोहलपुरका विभिन्न स्थानमा स्थानीय सरकारले उपलब्ध गराउने भनेको जग्गामा टिबी अस्पताल खोल्न स्थानीयवासीहरूबाट अवरोध भएपछि ढकेरीमा नेपालगन्जबाट करिब २४ किलोमिटर टाढा अस्पताल बनाउनुपर्ने अवस्था आएको थियो । ढकेरीस्थित गणेश माध्यमिक विद्यालयले संरक्षण गर्दै आएको करिब दुई बिगाह जमिन उपलब्ध गराएपछि निर्माणको काम अघि बढेको हो ।
संघीय सरकारको सशर्त अनुदान अन्तर्गत निर्माण हुने एकतले भवनमा करिब ७९ वटा कोठा रहनेछन् । जसमा तत्कालको लागि २५ शैयाको क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन गरिनुका साथै बिरामीको लागि आवासीय छात्रावासको समेत व्यवस्था हुने खड्काले जानकारी दिए । बिस्तारै अस्पतालको स्तरोन्नति गर्दै लगिने पनि उनले बताएका छन् । जहाँ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका क्षयरोगका बिरामीलाई लक्षित गरेर उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन गरिने छ । केन्द्रमा वार्षिक ३५ हजारभन्दा बढी मानिस क्षयरोग रोगको परीक्षण गर्न आउने गरेका टिबी नेपालले जनाएको छ ।
कैलाली र कन्चनपुरमा क्षयरोगीका बिरामी उच्च
सुदूरपश्चिम प्रदेशको कैलाली र कन्चनपुरमा सबैभन्दा बढी क्षयरोगका बिरामी रहेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका नौ जिल्लामध्ये वर्षेनी कैलाली र कन्चनपुरमा गरी ६१ प्रतिशत बढी क्षयरोगी रहेका छन् ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१-८२ मा प्रदेशमा तीन हजार एक हजार आठ सय ८५ क्षयरोगीका बिरामी रहेकोमा कैलालीमा सबैभन्दा बढी बिरामी रहेका छन् । तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१-८२ मा कैलालीमा सात सय ६३ जना बिरामी रहेका छन् । त्यस्तै, कन्चनपुरमा पाँच सय १४ जना क्षयरोगका बिरामी रहेका छन् । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१-८२ मा डोटीमा ८० जना क्षयरोगका बिरामी रहेका छन् । त्यस्तै, अछाममा एक सय १८, बैतडीमा ९५, बझाङमा ८४, बाजुरामा ८१, डडेल्धुरामा ७३ र दार्चुलामा ७९ जना क्षयरोगका बिरामी रहेका छन् ।
प्रदेशमा क्षयरोगका कारण मृत्यु हुनेको दर कुल बिरामी सङ्ख्यामा कमी आउन सकेको छैन् । चालू आर्थिक वर्षमा प्रदेशका कुल बिरामी सङ्ख्यामध्ये ६४ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिममा आर्थिक वर्ष २०८०-८१ मा एक सय १६ र आर्थिक वर्ष २०७९-८० मा एक सय २१ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिममा दुई हजारभन्दा बढी नयाँ क्षयरोगी वर्षेनी फेला पर्ने गरेको तथ्यांकले देखाएको छ । सो तथ्यांक अनुसार गत आर्थिक वर्षमा यस प्रदेशमा तीन हजार छ सय १२ जना नयाँ क्षयरोगी फेला परेका थिए । जस अनुसार सबैभन्दा बढी एक हजार पाँच सय ६० कैलाली र सबैभन्दा कम बझाङमा एक सय ४८ जना क्षयरोगी फेला परेका थिए ।
पाँच पालिकामा उच्च क्षयरोगी दर
सुदूरपश्चिममा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकामध्ये पाँच पालिकामा उच्च क्षयरोगीको दर रहेको निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार बाजुराको गौमुल गाउँपालिका, दार्चुलाको महाकाली नगरपालिका, कन्चनपुरको दोधार चाँदनी गाउँपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा उच्च क्षयरोगी दर रहेको छ । निर्देशनालयका अनुसार गौमुलमा तीन सय ३८, दोधारामा दुई सय ४१, महाकालीमा दुई सय ३६, बेलडाँडीमा दुई सय १८ र लालझाँडीमा दुई सय दुई क्षयरोगी रहेका छन् ।
निर्देशनालयका अनुसार कैलाली सबैभन्दा बढी बिरामी धनगढी उपमहानगरपालिका ४१९ जना सबैभन्दा कम चुरे १२ जना, कन्चनपुर सबैभन्दा बढी बिरामी भीमदत्त नगरपालिका २०६ जना सबै भन्दा कम बेल्डाँडी ४६ जना रहेको उल्लेख छ । १० सबै भन्दा बढी बिरामी भएका पालिकामध्ये ६ कैलाली तथा ४ कन्चनपुरमा स्थानीय तह रहेका छन् ।
डोटी जिल्लामा सबैभन्दा बढी बिरामी दिपायल सिलगढी नगरपालिका ३६ जना सबै भन्दा कम बडीकेदार ५ जना, अछामको मंगलसेन सबैभन्दा बढी बिरामी ३६ जना कम पञ्चदेवल विनायक ८ जना, डडेल्धुरा सबैभन्दा बढी बिरामी परशुराम नगरपालिका ३७ जना अजयमेरू र भागेश्वर १२-१२ जना बिरामी रहेको उल्लेख छ भने हिमाली जिल्लामा सबैभन्दा बढी बिरामी महाकाली नगरपालिका दार्चुला ६४ जना रहेका छन् ।
टिबी संक्रमित हुनेमा २० प्रतिशत बढी बालबालिका
बाँकेमा क्षयरोग अर्थात् टिबीका बिरामीहरू पत्ता लाग्ने क्रम बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकले पछिल्ला वर्षमा बिरामीहरूको पहिचान हुने क्रम बढेको देखिन्छ ।
कार्यालयका क्षयरोग फोकल पर्सन रविन्द्र शाहका अनुसार आर्थिक वर्ष २०७९–८० मा एक हजार एक सय २ जना बिरामी फेला परेकोमा २०८०–८१ मा एक हजार एक सय ८२ र आर्थिक वर्ष २०८१–८२ को ७ महिनामा पाँच सय ९० जना बिरामी फेला परेका छन् । तीमध्ये ६ सय १७ जना १४ वर्षमूनिका बालबालिकाहरू रहेका छन् ।
टिबीका बिरामी बालबालिकाहरूमा आर्थिक वर्ष २०७९–८० मा दुई ३३ जना बिरामी फेला परेकोमा २०८०–८१ मा दुई सय ६८ जना र आर्थिक वर्ष २०८१–८२ को ७ महिनामा एक सय १६ जना फेला परेका छन् । जुन उक्त वर्षमा भेटिएका टिबी संक्रमितमध्ये क्रमशः २१ दशमलव १४ प्रतिशत, २२ दशमलव ६७ प्रतिशत र १९ दशमलव ६६ प्रतिशत हुन आउँछ ।
यसैगरी टिबी संक्रमितमा गरिएको एचआइभी परीक्षणमा तीन वर्षमा क्रमशः ५, ९ र ८ जनामा संक्रमण फेला परेको शाहले जानकारी दिएका छन् । क्षयरोगको उपचार सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क हुने गरेको छ । सरकारले सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष लिएको छ ।
प्रतिक्रिया दिनुहोस्