डाइनामिकका विद्यार्थीले निकाले भित्तेपत्रिका



कोहलपुर ।
कोहलपुर–११ मा अवस्थित डाइनामिक माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा प्रकाशित ‘बाल सिर्जना त्रैमासिक पत्रिका’को दास्रो संस्करणको सार्वजनिक गरेको छ । सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सो पत्रिका सम्पादन तथा प्रकाशन गरेका हुन् ।

पत्रिका सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका आसनबाट बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमप्रकाश सुबेदीले आजका बालबालिका नै भविष्यका देशका शक्ति भएकाले उनीहरूको चौतर्फी विकासमा ध्यान दिनुपर्ने बताए । उनले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययनका अलावा सिर्जनात्मक काममा लाग्न पनि आग्रह गरे ।

सो अवसरमा पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार तथा साहित्यकार सागर गैरेले अध्ययनले नै सिर्जनामा निखार आउने भएकाले विद्यार्थीहरूले अध्ययनमा जोड दिनुपर्ने बताए । समय निकालेर विद्यार्थीहरूले पाठ्यपुस्तकबाहेक कला, साहित्य, इतिहासलगायतका पुस्तक अध्ययन गर्नुपर्ने बताए । आजको विकसित प्रविधिलाई उपयोग गरेर ज्ञान आर्जको माध्यम बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले आफ्नो मातृभाषामा दक्ष बन्न पनि विद्यार्थीहरूलाई आग्रह गरे । त्यस्तै, रेडियो मिसनका स्टेसन मेनेजर बैकुण्ठ अधिकारीले विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै सिर्जनात्मक काम गरेर नै आफ्नो सँगसँगै देशको नाम उच्च राख्न सकिने बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक रबिन्द्र रेग्मीले विद्यालयले सिर्जनात्मक क्रियाकलापलाई अगाडि बढाएको बताए । उनले निकट भविष्यमै अंग्रेजी भाषामा समेत पत्रिका प्रकाशन गरिने प्रतिबद्धता जनाउँदै त्यसका लागि तयार रहन विद्यार्थीहरूलाई आग्रह गरे। सो अवसरमा विद्यार्थीहरूले नेपाली भाषामा लेखिएका आ–आफ्ना सिर्जनासमेत वाचन गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ २३ गते मंगलबार