मधुर पौडेल । बर्दिया।
बर्दियाको बाँसगढीमा जारी बर्दिया माघ महोत्सवमा बुधबार चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लगायतका कलाकारले आफ्नो प्रस्तुति दिए । उनीहरूले आफ्ना प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए । पुस २९ गतेदेखि जारी कृषि, पर्यटन व्यापार मेला तथा माघ महोत्सवमा बुधबार उल्लेखनीय सहभागिता रहेको थियो ।
महोत्सवमा धुर्मुस–सुन्तलीका अलावा गायक कमल बिसी, गायक राज कुस्मी, मोडेल अस्मिता पुरीले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
महोत्सवमा ३ गते उल्लेखनीय सहभागिता रहेको थियो । हास्य कलाकार धुर्मुस–सुन्तलीले आफ्ना प्रस्तुतिहरूमार्फत दर्शक श्रोतालाई पेट मिचिमिची हँसाएका थिए । यस्तै, कमल बिसी र राज कुस्मीले आफ्ना आधा दर्जन बढी चर्चित गीतहरू मेलामा प्रस्तुत गरेका थिए ।
युवा गायक बिसीको प्रस्तुतिमा दर्शकले झुमेरै साथ दिए भने कुस्मीले पनि आधा दर्जन बढी गीतमार्फत दर्शक श्रोतालाई मुग्ध बनाएका थिए । महोत्सवमा राष्ट्रिय कलाकारहरूका अलावा स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहेको थियो । बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको महोत्सवमा दिन प्रतिदिन दर्शकको संख्यामा वृद्धि भइरहेको आयोजकले जनाएको छ । महोत्सव अवधिभर कृषि तथा माघी मेलाको अवलोकन गर्न सकिने संघका अध्यक्ष बद्रीनाथ बरालले जानकारी दिए ।
यहाँका पर्यटकीय स्थलका साथै कृषि तथा स्थानीय व्यापार प्रवद्र्धनमा टेवा पुग्ने संघका महासचिव विकास गौतमले जानकारी दिए । आज बिहीबार चर्चित नायक पल शाह गायक खेम सेन्चुरी र मोडल रुबिना अधिकारी बाँसगढी महोत्सवमा आउँदै छन् ।
प्रतिक्रिया दिनुहोस्