अवैध बाटोहुँदै अमेरिका पुग्ने पहिलो व्यक्ति दाबी गर्ने हस्त गौतम जेल चलान



काठमाडौं।

अमेरिका बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका नेपाली मूलका अमेरिकन नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतम पुर्पक्षको लागि जेल चलान भएका छन्।

सयौँ नेपालीलाई अवैध बाटो’ हुँदै अमेरिका पुर्‍याउँदै आएका उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्ष लागि थुनामा राख्न आदेश दिएको हो।

हस्तले आफूले अवैध बाटो हुँदै सयौँ नेपालीलाई अमेरिका पुर्‍याएको अदालत समक्ष स्वीकार गरेका छन्। साथै उनले ‘अवैध बाटो हुँदै अमेरिका पुग्ने पहिलो व्यक्ति भएको पनि दाबी गरेका’ छन्।

उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। पक्राउ परेपछि उनले आफू अवैध बाटोबाट अमेरिका गएको र नेपालबाट जाने पहिलो व्यक्ति भएको बताएका थिए।

उनले जिल्ला अदालत काठमाडौंमा दिएको बयानमा समेत सो कुरा उल्लेख गरेका छन्। उनी सन् २००५ मा अवैध बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। तर, उनी पहिलोपल्ट अमेरिका पुगेका भने होइनन्। अवैध बाटोबाट भने अमेरिका पुगेका हुन्।

उनीविरुद्ध तीन वटा मुद्दा दर्ता भएको छ। मानव बेचबिखन ओसारपसार कसुर, सङ्गठित अपराध, ठगी र एकीकृत कसुरको उजुरी परेको छ। उनले अमेरिकादेखि नेपालसम्म मानव बेचबिखनमा जालो नै खडा गरेका छन्।

२०२८ सालमा तत्कालीन रूकुम जिल्ला स्यालापाखा गाविस –९ नाथीगाड र हाल सिस्ने गाउँपालिका–४ मा पूर्वी रूकुममा जन्मेका हस्त चार वर्षको उमेरमा पोलियो भएपछि दुवै खुट्टा नचल्ने भएका थिए।

शारीरिक रूपमा अपाङ्ग भएकाले उनी राष्ट्रिय अपाङ्ग महासंघमा जोडिएका थिए। उनी शारीरिक रूपमा अपाङ्ग भए पनि बौद्धिक रूपमा बलिया थिए।

शारीरिक रूपमा अपाङ्ग भए पनि उनी सक्रिय थिए। सन् १९९४ मा मेक्सिकोमा अपाङ्गता भएका व्यक्तिहरूका लागि ‘पारा ओलम्पिक’ थियो। त्यसमा जाने अवसर पाएका उनले विभिन्न देशमा जाँदा सहयोगी लिएर जाने र उतै छोड्ने गर्दै आएका थिए।

उनी सन् १९९४ मा ओलम्पिकको लागि अमेरिका पुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोले पुष्टि गरेको छ।

हस्तले बयान दिए अनुसार सन् १९९४ मा पहिलोपल्ट पारा ओलम्पिकका लागि मेक्सिको पुगेका थिए। त्यतिबेला उनी मेक्सिको पुग्दा मान्छेहरू दिनभर टेक्सासमा काम गरेर साँझ मेक्सिको फर्किएको देखेका थिए।

त्यस्तो दृश्यले उनलाई मेक्सिकोसम्म पुगे त्यहाँबाट सजिलै अमेरिका पुग्न सकिने रहेछ भन्ने थाहा भयो। त्यसपछि त्यहाँबाट फर्किएको ९ वर्षमा सन् २००५ मा अवैध बाटो हुँदै अमेरिका पुगेको मानव बेचबिखन ब्युरोलाई बयान दिएका छन्।

त्यतिबेला उनले श्रीमती र एक वर्षकी छोरी पनि लिएर गएका थिए। अहिले उनका दुई सन्तान र श्रीमती टेक्सासमै छन्। त्यसपश्चात हस्त नेपाल फर्किएका थिएनन्।

अमेरिकामा नै बसेर विभिन्न एजेन्टहरूको सहायतामा अवैध रूपमा नेपालीलाई अमेरिका लैजाने र लाखौँ रुपैयाँ ठगी गर्दै आइरहेका उजुरी छ।

विभिन्न सहर तथा देशमा लुक्दै बसेका उनलाई दुई महिनाअघि केही समयअघि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले भारतको दिल्लीबाट पक्राउ परेको हो।

हस्तविरुद्ध मानव बेचबिखन तथा मानव तस्करी गरेको आरोप धेरै पहिलादेखि थियो।

  • No tags available
प्रकाशित मिति : २०८० असोज १० गते बुधबार