13 July 2024  |   शनिबार, असार ३०, २०८१

स्तनपान गराउने आमाले जान्नैपर्ने विषय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ ३१, २०८०  

डा. जया प्रधान, पोषणविद्

नानी रोयो, भोक लाग्यो होला, खुवाइहाल । नानीलाई नखुवाएको धेरै बेर भयो, छिटो दूध खुवाउनुजस्ता भनाइ हामीले प्रायः सुन्ने गरेका छौं । तर नानीलाई दूध खुवाउनुपर्ने भएकाले पोषिलो खाना समयमा खानू, आराम गर्नु भन्ने कुरा भने सायद बिरलै सुन्छौं ।

हो, बच्चाले भन्न जान्दैन र उसलाई समय–समयमा आमाको दूध खुवाउनुपर्छ । सुरुमा पाएको पोषिलो आहारले उसको भावी जीवनलाई प्रभाव पार्छ । विश्वव्यापी मान्यताप्राप्त, सर्वगुण सम्पन्न आमाको दूधको स्रोत अर्थात आमाको पोषण, स्वास्थ्यस्तर, उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे भने तुलनात्मकरूपमा कम मात्र चासो राख्ने गरेको पाइन्छ ।

अझ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने स्तनपानलाई पौष्टिक र स्वास्थ्यका दृष्टिकोणले भन्दा पनि परम्परागत मान्यताको रूपमा अवलम्बन गरिएको छ । स्तनपानलाई प्राथमिकता दिँदाँ शिशुले यथेष्ट पौष्टिक तत्व प्राप्त गर्ने मौका पाउँछ तर आमाको खानामा उचित ध्यान पु¥याउन नसकेमा उनको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

प्रायजसो सुत्केरी महिलामा लौहतत्व, भिटामिन ए, प्रोटिन कमी हुने अध्ययनले देखाएको छ । साधारणतयाः जो कोही महिला आफ्नो बच्चालाई स्तनपान गराउन सक्षम हुन्छन् । टिबी, एड्स तथा विशेष औषधिको सेवन गरिएको अवस्थामा बाहेक अन्य साधारण अवस्थामा स्तनपान गराउन सकिन्छ । सफलताका साथ स्तनपान गराउन सुत्केरी अवस्थाबाहेक गर्भवती अवस्थामा समेत महिलाको दैनिक खानामा ध्यान दिनुपर्ने
हुन्छ ।

जति आमाको पोषणस्तर राम्रो हुन्छ, त्यति नै गुणात्मक र परिणात्मक रूपमा शिशुले आमाको दूध प्राप्त गर्न सक्छ । एकातिर आमाको स्वास्थ्यस्थिति सन्तुलित राख्न र अर्कोतिर शिशुलाई यथेष्ट दूध उपलब्ध गराउन आमाको भोजनमा साधारणभन्दा थप खानाको व्यवस्था गर्नुपर्छ ।
महिलाको अवस्था, उनले गर्ने कामको प्रकार हेरी दैनिक भोजनमा क्यालोरी, प्रोटिन, भिटामिन, खनिज पदार्थ थप गर्नुपर्ने हुन्छ ।

सुत्केरी महिलाले दैनिक आवश्यक र सन्तुलित भोजन प्राप्त गर्न सकेमा शरीर स्वस्थ राख्न मद्दत मिल्छ । साथै दूध बन्नको लागि शरीरमा जम्मा भएको पौष्टिक तत्वको पुनः पूर्ति हुनुको साथै शिशुका लागि प्रशस्त दूध उत्पादन गर्नमा मद्दत पु¥याउँछ ।

एक साधारण स्वस्थ दूध खुवाउने महिलाबाट करिब ६ सय मिलिलिटर प्रतिदिन दूध बन्न सक्छ । आफ्नो दैनिक पौष्टिक आवश्यकता पूरा गर्न र उल्लिखित परिणाममा दूध बन्नका लागि उनलाई दैनिक आवश्यकताबाहेक थप पोषिलो खानाको जरुरत पर्न सक्छ ।

आमाले गरेको भोजनबाट प्राप्त क्यालोरीमध्ये ६० प्रतिशत क्यालोरीमात्र दूधमा रुपान्तरण हुन सक्ने भएकाले ४ सय २० क्यालोरीको लागि दैनिक थप ७ सय क्यालोरी आवश्यक पर्ने हुन्छ ।

यसैगरी आमाको दूधमा प्राप्त हुने ७.२ ग्राम प्रोटिनका लागि भोजनमा १४.४ ग्राम आवश्यक पर्ने हुनाले यस अवस्थामा २० ग्राम थप प्रोटिन आवश्यक पर्छ । यसैगरी दूध खुवाउने महिलाको भोजनमा दैनिक ७ सयदेखि एक हजार मिलिग्रामसम्म क्याल्सियम थप गर्नुपर्ने हुन्छ ।
आमाको दूध बन्नका लागि शरीरको कुल क्याल्सियममध्ये करिब २ देखि ८ प्रतिशत खर्च हुने भएकाले यसको पूर्तिका लागि पनि थप क्याल्सियमको आवश्यकता पर्ने हुन्छ ।

यदि दुई बच्चाबीचको जन्मान्तरको दूरी कम छ भने त्यस्तो स्थितिमा आमाको शरीरमा क्याल्सियम आवश्यक मात्रामा जम्मा हुन नसक्दा पछि गएर हाड कमजोर हुने वा अस्टोपोरसिस हुने बढी सम्भावना हुन्छ ।

शिशु जन्मँदा रगत खेर जाने भएकाले यस समयमा बढी लौहतत्वको आवश्यकता हुन्छ । तर स्तनपानको समयमा भने थप लौहतत्व त्यति आवश्यक पर्दैन । सुत्केरी अवस्थामा गर्भवती अवस्थामा भन्दा कम लौहतत्व भए पुग्ने हुन्छ ।

प्रायः प्रशस्त स्तनपान गराउन्जेलसम्म केही महिना महिनावारी नहुने र महिनावारी सुरु भएपछि भने थप लौहतत्व आवश्यक पर्ने हुन्छ । भिटामिन ए, बी, सी, फोलिक एसिडको हकमा भने यस अवस्थामा थप आवश्यक पर्दछ ।

यस प्रकार आमाको खानाले उनको शरीरबाट उत्पन्न हुने दूधको गुण र परिमाणमा प्रभाव पर्ने भएकाले यस अवस्थामा सकेसम्म उचित भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ । हुन त कमजोर आर्थिक अवस्था भएको, उचित भोजन प्राप्त गर्न नसकेको अवस्थामा पनि महिलाले आफ्नो बच्चालाई स्तनपान गराउन सक्छिन् ।

यस्तो स्थितिमा आमाको शरीरका कोषहरूमा जम्मा भएका तत्वहरू प्रयोग भई दूध बन्ने भएकाले आमाले आफ्नो शिशुलाई स्तनपान गराउन समर्य त हुन्छिन् तर उनको शरीरमा बिस्तारै पौष्टिक तत्वको अभावबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

यस्तो स्थितिमा प्राप्त भएको आमाको दूधको आयतन कम हुने तथा परिमाणमा समेत कम हुन सक्छ । शक्तिभन्दा पनि भिटामिन बी१२, सी, थायमिनको परिमाणलाई आमाको खानाले बढी प्रभाव पार्छ । यदि आमाको खानामा उल्लिखित भिटामिनको कमी छ भने शिशुमा यी तत्वहरूको अभाव हुने धेरै सम्भावना हुन्छ ।

यसैगरी जिंक र आयोडिनको अभाव छ भने पनि शिशुले पर्याप्त यी खनिज तत्वहरू प्राप्त गर्न नसकी उसको वृद्धि विकासमा असर पर्ने हुन्छ । आमाको दूधमा शिशुको सर्वाङ्ग विकासका लागि चाहिने सम्पूर्ण तत्वहरू हुन्छ ।

यसले आमाको स्वास्थ्य पनि सकारात्मक प्रभाव पार्ने हुन्छ जस्तै स्तनपान गराउँदा आमाको शरीरबाट निस्कने एक प्रकारको हर्मोन अक्सिटोक्सिनले पाठेघरको मांसपेशी खुम्च्याउने, चाँडो रक्तस्राव रोक्ने, पहिलेको शारीरिक बनावट र तौल कायम गर्ने, आमा र शिशुबीच बलियो भावनात्मक सम्बन्ध कायम राख्न मद्दत पु¥याउने हुन्छ ।

त्यसैले गर्भवती अवस्थाबाहेक सुत्केरी अवस्थामा समेत आमाको दैनिक भोजनको उचित व्यवस्था गर्नुपर्छ ।

यसबाहेक घर परिवारबाट पूर्ण सहयोगका साथै उचित वातावरण उपलब्ध गराउन सकेमा अवस्य पनि सफलताका साथ महिलाले आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन् ।

प्रकाशित मितिः आइतवार, भदौ ३१, २०८०     12:39:18 PM  |