एक वर्षमै करोड बढी मूल्यका बिरुवा खरिद



धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकार मातहतका डिभिजन वन कार्यालयहरूले बर्सेनि वृक्षारोपणका लागि बिरुवा खरिद गरेर वितरण गर्दै आएका छन् । कार्यालयहरूले वितरण गरेको बिरुवाको तत्यांक हेर्दा सिंगो प्रदेश नै हरियालीतर्फ उन्मुख हुनुपर्ने हो । तर, वास्तविकता उल्टो छ । वन क्षेत्र विस्तार हुनुको सट्टा घटिरहेको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा मात्रै प्रदेशका छ वटा डिभिजन वन कार्यालयहरूले करोड बढी मूल्यका बिरुवा खरिद गरेर वितरण गरेका छन् । महालेखा परीक्षकको कार्यालयका अनुसार डिभिजन वन डोटीले २५ लाख, पहलमानपुरले १६ लाख ९० हजार, धनगढीले नौ लाख ९८ हजार, अछामले २५ लाख ३९ हजार, कञ्चनपुरले १३ लाख ८२ हजार र बाजुराले नौ लाख ४१ हजार मूल्यका विभिन्न बिरुवा खरिद गरेका थिए ।

उक्त बिरुवा व्यक्ति, सामुदायिक वन उपभोक्ता समिति तथा संघसंस्थालाई वितरण गरिएको थियो । ‘खरिद भएका बिरुवाहरू किसानको माग र वृक्षारोपण स्थलको सुनिश्चितता भएको देखिएन,’ महालेखोको प्रतिवेदनमा भनिएको छ, ‘मागमा आधारित भई खरिद गरी प्रयोग भएका बिरुवाको अनुगमन गर्नुपर्दछ ।’

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७९ को दफा २६ मा सार्वजनिक निकायले सरकारी रकम खर्च गर्दा निश्चित मापदण्डको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार बिरुवा खरिदमा पनि मापदण्ड बनाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। रोपिएका कति बिरुवा बाँचे भन्ने विषयमा पनि अनुगमन हुने गरेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार