17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

प्रेमीको रोमान्टिक चुम्बनले प्रेमिकाको कानको जाली फुट्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ६, २०८०  

प्रेममा रहेका एक जोडीले अन्तरङ्ग पल साट्दा दुर्घटना भएको छ । एक प्रेमीले प्रेमिकालाई चुम्बन गर्ने क्रममा कानको जाली नै फुटेको छ ।

घटना चीनको हो । चीनको मिडिया अनुसार गुआङडोङ प्रान्तको हुइझाउ सहरकी एक महिला हुइझाउ फर्स्ट पिपल अस्पतालको नाक, कान घाँटी विभागमा उपचारका लागि पुगिन् । उनको बायाँ कान दुखिरहेको थियो र त्यस कानबाट उनले केही सुनिरहेकी पनि थिइनन् । परीक्षण गर्दा डाक्टरले उनको कानको जालीमा सुकेको रगत देखे । नजिकबाट अनुसन्धान गरेपछि उनको कानको जालीमा चोट लागेको पत्ता लाग्यो ।

महिलालाई के भएको थियो भनेर डाक्टरले सोधे । विगतमा कानमा चोट लाग्ने खालको त्यस्तो ठुलो घटना केही नभएको उनले डाक्टरलाई बताइन् । त्यसो भए हालै केही त्यस्तो घटना केही भएको थियो त भनेर डाक्टरले सोधेपछि उनी झसङ्ग भइन् र अन्तरङ्ग पल साटासाट गर्दा प्रेमीले कान चुसेको बताइन् ।

‘उनले मेरो कानमा चुम्बन गर्दै, बेस्सरी चुसे । अलि बेरपछि कानभित्रबाट ‘प्याट्ट’ आवाज आएको थियो । त्यसपछि मैले आफ्नो देब्रे कानले सुन्न छोडेँ,’ जियाओहुआ नाम दिइएको ती महिलाले नाक, कान, घाँटीका डाक्टरलाई भनिन् । उक्त घटनापछि उनको कान लगातार बजिरहेको र थोरै दुखिरहेको जानकारी दिइन् ।

ear2

‘घाउ नजिकै रगत देखिएको छ, जुन साधारण होइन । उनको मेडिकल हिस्ट्रीमा पनि त्यस्तो खासै समस्या थिएन । उनले आफ्ना प्रेमीले चुम्बन गर्ने बेला धेरै नै बल लगाएर कान चुसेको र त्यति बेला आफूलाई दुखेको भन्ने जानकारी दिइन्,’ हुइझाउ फर्स्ट पिपल अस्पतालका ओटोलारिन्गोलोजी हेड एन्ड नेक सर्जरीका उप–निर्देशक फू जियाले बताए ।

विस्फोट हुँदा वा अत्यधिक ठुलो आवाजलगायतका बाहिरी वायुमण्डलीय दबाबमा अचानक परिवर्तन हुँदा कानको जाली फुट्ने सम्भावना हुन्छ । यद्यपि, रोमान्टिक चुम्बन गर्दा कानको जाली फुट्नु पक्कै पनि सामान्य कुरा होइन ।

‘साधरणतया कानको जाली दुई हप्तादेखि तीन महिनाको बीचमा आफैँ निको हुन्छ,’ फू जियाले भने । ‘कानको जाली तीन महिनासम्म पनि निको नभए उपचारको विधि अपनाउनुपर्ने हुन्छ ।’

प्रकाशित मितिः शनिबार, साउन ६, २०८०     9:03:25 AM  |