20 June 2024  |   बिहिबार, असार ७, २०८१

हुलाक बचतको खातामा रहेको १४ करोड निक्षेप वाणिज्य बैंकमा हस्तान्तरण गरिँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ३०, २०८०  

नेपालगन्ज ।

जिल्ला हुलाक कार्यालय बाँकेअन्तर्गत रहेको हुलाक बैंकमा रहेका खाता एवम् बचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरू गरिएको भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार मंगलबारदेखि हस्तान्तरणको प्रक्रिया सुरू भएको हो ।
जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेका अनुसार बाँकेमा खाता ‘अपडेट’ गरी वाणिज्य बैंंकलाई हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बाँकेमा हुलाक बचत बैंकमा दुई हजार ग्राहक छन् भने १४ करोड निक्षेप छ । असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार पनि रोक्का रहने छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक बचत बैंकका खाताहरूलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक बचत बैंकका खाता हस्तान्तरण गर्न थालिएको छ ।

राष्ट्रिय बैंकसँग असार २४ गते भएको सम्झौताअनुसार खाता हस्तान्तरण प्रक्रिया सुरू भएको हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा असार १२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक बचत बैंकमा रहेका बचतकर्ताका खाता एवम् बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी हुलाक बचत बैंकहरूको व्यवस्थापन गर्नका लागि गर्नका लागि सञ्चालनमा रहेका हुलाक बचत बैंकमा रहेको समग्र नाफा रकमबाट हाल घाटामा रहेका तथा कर्मचारीबाट हिनामिना भएका रकम भुक्तानी गरी बाँकी रहेको नाफा रकम नेपाल सरकारको सञ्चित कोषमा जम्मा गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

हुलाक बचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

त्यस्तै, हुलाक बचत बैंकमा रहेका खाताहरू हस्तान्तरणपछि हुलाक बचत बैंक खारेज गरी हुुलाक बैंक नियमावली २०३४ को खारेजीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद्बाट भइसकेको प्रवक्ता सुवेदीले जानकारी दिए । देशभरि सञ्चालनमा रहेका ६८ वटा हुलाक बचत बैंकमध्ये १२ वटा घाटामा चलेका थिए ।

प्रकाशित मितिः शनिबार, असार ३०, २०८०     7:19:30 AM  |