14 June 2024  |   शुक्रबार, असार १, २०८१

मुद्दा जितेपछि साम्राज्ञी भन्छिन्- अब शान्तिको सास फेर्छु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०  

काठमाडौं ।

अन्ततः अभिनेत्री साम्राज्ञी शाहले भुवन केसीसँगको तीन वर्ष लामो ‘बेइज्जती’को मुद्दा जितिन् । काठमाडौं जिल्ला अदालतले साम्राज्ञीलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ‘दाबी नपुग्ने’ फैसला गरेको छ । जिल्ला अदालतको फैसलालगत्तै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै साम्राज्ञीले ‘अब शान्तिको सास फेर्न सक्ने’ प्रतिक्रिया दिएकी छन् ।

सत्यको जित भएको र पहिलेजस्तै अब आफू सुनिश्चित ढंगले काममा अघि बढ्ने साम्राज्ञीले बताएकी छन् । उनले आफूलाई कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायीलाई समेत धन्यवाद दिएकी छन् । ‘हामीले अन्ततः यो लडाइँ जितेका छौं । अब म शान्तिको सास फेर्न सक्छु र जीवनमा फेरि अघि बढ्न सक्छु,’ उनले भनेकी छन् ।

आफूविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्तिको दाबी गर्ने व्यक्तिले शक्ति र पहुँचको दुरुपयोग गर्दै बुलिङ गरेको साम्राज्ञीको आरोप छ । उनले यसो भनिरहँदा भुवनको नाम चाहिं लिइनन् । उनले नेपाली फिल्म उद्योगमा उदाउँदै गरेका कलाकार र महिलालाई आफ्नो आवाज दबाउन नदिन आग्रह समेत गरेकी छन् ।

बुधबार अदालतमा भएको सुनुवाइ मुख्यतः नाम उल्लेख भएको वा नभएको कुरामा केन्द्रित थियो । मुद्दाका प्रतिवादीतर्फका कानुन व्यवसायीले साम्राज्ञीले कसैको नाम नलिएको र समग्र चलचित्र क्षेत्रको प्रवृत्तिलाई उजागर गरेको दाबी गरेका थिए भने वादीतर्फका कानुन व्यवसायीले साम्राज्ञीको आशय भुवनतर्फ लक्षित रहेको जिकिर गरेका थिए । तीन वर्षअघि साम्राज्ञीले आफूले गरेका आठ फिल्ममध्ये तीन ब्यानरका फिल्मबाट शोषण र दुर्व्यवहार भएको बताएकी थिइन् ।

प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०     9:40:26 AM  |