19 June 2024  |   बुधबार, असार ६, २०८१

टिपरको ठक्करबाट आमाको घटनास्थलमै मृत्यु, छोरी गम्भीर घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १९, २०८०  

विराटनगर ।

आमा-छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिँदा सुनसरीको इटहरीमा आमाको घटनास्थलमै मृत्यु भएको छ। गम्भीर घाइते छोरीको उपचार भइरहेको छ।

मंगलबार टिपरको ठक्करबाट इटहरी–८ गैसारकी ३९ वर्षीया सरिता चौधरीको मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए। उनका अनुसार २२ वर्षीया छोरी अंशुको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

इटहरीको खनारमा भदैनीको घरमा पूजामा जान हिँडेका आमाछोरीलाई इटहरी चोकमा कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिएको थियो।

स्थानीयबासीले ठक्करबाट घाइते भएकी सरितालाई चालकले ब्याक गरेर किचेको आरोप लगाएका छन्। प्रहरीले भने त्यसबारे अनुसन्धानपछि मात्रै केही भन्न सकिने जनाएको छ।

को १४ प ५२६ नम्बरको स्कुटरमा सवार उनीहरू विराटनगर लाइनतर्फ अघि बढ्ने क्रममा थिए। विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको टिपरले ठक्कर दिएर सरिताको ज्यान गएपछि स्थानीयबासीले टिपरमा तोडफोड गरेका थिए।

टिपर र चालकलाई प्रहरीले जोगाउन खोज्दा सर्वसाधारणले ढुंगामुढासमेत गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेको थियो। अहिले तनाव साम्य भइसकेको छ।

त्यसक्रममा नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ३ गरी नौ जना सुरक्षाकर्मी घाइते भएको एसपी ढकालले जानकारी दिए।
प्रहरीले टिपर चालक सर्लाही ईश्वरपुरका २७ वर्षीय बलबहादुर बम्जनलाई पनि नियन्त्रणमा लिएको छ।

प्रकाशित मितिः मङ्लबार, असार १९, २०८०     8:03:34 PM  |