20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

ऐतिहासिक महेन्द्र बहुमुखी क्याम्पसको दुर्दशा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १, २०७९  

वीरेन्द्र जैसी । नेपालगन्ज ।

गत असारको एक दिन महेन्द्र बहुमुखी क्याम्पसको विज्ञान संकाय भवनभित्रको कक्षा कोठामा छतबाट ईट्टा र कंक्रिट उप्किएर विद्यार्थीहरु बस्ने बेञ्चमा खस्यो । छतबाट खसेको उक्त ईट्टा र कंक्रिटले काठका डेस्क र बेञ्च नै भाँचिए । त्यस दिन यहाँ विद्यार्थी भइदिएको भए त्यसले निम्त्याउने दुर्घटनाको कल्पनामात्रै गर्न सकिन्छ ।

२०१४ सालमा स्थापना भएको महेन्द्र बहुमुखी क्याम्पसमा २०२२ सालतिर केही भवनहरु निर्माण भएका थिए । राजा महेन्द्रको पालामा बनेका ती भवनहरु अहिले जीर्ण भएर जोखिमपूर्ण बन्दा पनि तिनको विकल्प तयार हुन सकेका छैनन् । आफ्नो उमेर पूरा गरिसकेका ती भवनहरु भत्काएर नयाँ भवनहरु बनाउनुको विकल्प नभएको क्याम्पस प्रमुख लालमणि आचार्य बताउँछन् । ‘क्याम्पसको अवस्थाका बारेमा हामीले भन्नुपर्ने र देखाउनुपर्ने सबैलाई भन्ने र देखाउने काम गरिसकेका छौँ ।

तर, क्याम्पसले आवश्यक बजेट पाउन सकेको छैन,’ आचार्यले भने । पश्चिम नेपालको पुरानो र गौरवमय इतिहास भएको यो क्याम्पसका भवनहरुको यो हविगत एक उदाहरण मात्रै हो । सम्भवतः अहिले पनि पश्चिमका धेरै विद्यार्थीहरु पढ्ने क्याम्पसहरु मध्येको यो क्याम्पसको भौतिक अवस्थाको दुर्दशा जोकोहीले आँखैअघि देख्न सक्छन् । क्याम्पस परिसर झारहरु बढेर जंगलजस्तै देखिन्छ । सरसफाइ छैन ।

भवनको सिढीहरुसम्मै घाँस पलाएको छ । खेलमैदान नाम मात्रको छ । टाढाबाट पढ्न आउने विद्यार्थी बस्नका लागि बनाइएको एउटा छात्राबास बस्न नमिल्ने अवस्थामा पुगिसकेको छ । प्राविधिक जाँच गर्दा भवनमा विद्यार्थीलाई पढाउन नमिल्ने र मर्मत सम्भार पनि गर्न नमिल्ने अवस्था पुगिसकेको पाइएको छ । ‘अरु त अरु क्यान्टिनसमेत उपयुक्त छैन ।

नास्ता खान पनि बाहिर नै जानुपर्छ,’ शनिबार क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता भनेर पुगेका विद्यार्थीहरु भन्दै थिए । विद्यार्थीहरुले क्याम्पसमा प्रयोगशाला, पुस्तकालयदेखि खेलमैदान पनि पर्याप्त नभएको भन्दै गुनासो पोखे । क्याम्पसमा अध्यापनमा पनि लापरबाही भइरहेको उनीहरुको भनाइ छ ।

नेपालगन्जको सहरीकरण र सहरको इतिहासमा एक महŒवपूर्ण स्थान ओगट्ने र अहिले पनि नेपालगन्जमा धेरै विषयहरु अध्यापन हुने विकल्पविहीन यो क्याम्पस बेवास्ताको सिकार भएको छ । विद्यार्थीहरु भन्छन्, ‘यति ठूलो क्याम्पसको यस्तो अवस्था देखेर पनि सबै किन चुप छन् ?’ उनीहरु राजनीतिक नेतृत्वदेखि प्राध्यापकहरु समेतले निजी क्याम्पसमा लगानी गरेका कारण क्याम्पसको हालत खराब भएको आशंका व्यक्त गरे ।

लामो समय क्याम्पसमा विद्यार्थी युनियनको निर्वाचन नभएको, राजनीतिक गर्नेहरुको प्राथमिकतामा विद्यार्थीहरुलाई राजनीतिमा प्रयोग गर्नेबाहेक विकासको विषय नपर्दा क्याम्पस विकृति र बेवास्ताको सिकार भएको तर्क पनि विद्यार्थीहरु गर्छन् । यसैगरी क्याम्पस प्रशासनको अकर्मण्यताका कारण पनि क्याम्पसको अवस्था बिग्रेको उनीहरु बताउँछन् ।

क्याम्पस प्रशासन भने क्याम्पसका समस्याबारे सम्बन्धित निकायमा पटकपटक माग गर्ने र बजेटको माग गर्ने काम गरिसकेको बताउँछ । क्याम्पस प्रमुख आचार्यले भवनहरु निर्माणका लागि १० करोड रुपैयाँको स्टीमेट तयारी गरी गत आर्थिक वर्षमै अर्थ मन्त्रालयसम्म फाइल पुगिसकेको बताए । तर, अर्थ मन्त्रालयले बजेटको व्यवस्था गरिदिएन । यस वर्ष पुनः काठमाडौं डेलिगेसन गएको र बजेटका लागि घच्घच्याएको उनले बताए । आगामी आर्थिक वर्षमा बजेट प्राप्त हुने आश्वासन पाएको उनी बताउँछन् ।

गत आर्थिक वर्षमा २०७८/०७९ नयाँ भवनको माथिल्लो तला निर्माणका लागि एक करोड रुपैयाँ बजेट आएको प्रमुख आचार्यले बताए । उक्त बजेटबाट तोकिएको काम पूरा भएको तर भवन भने अधुरै रहेको उनले बताए । अब पुनः थप बजेट प्राप्त हुने जानकारी पाएको उनको भनाइ छ । क्याम्पसमा अहिले करिब आठ हजार विद्यार्थीहरु अध्ययनरत रहेका बताइएको छ ।

क्याम्पसमै अध्ययन गरेर नीति निर्माण तहमा पुगेकाहरु पनि थुप्रै छन् । अहिले पनि क्याम्पसले लुम्बिनीका केही जिल्ला, कर्णाली र सुदूरपश्चिमका विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नुपर्ने अवस्था छ । तर, क्याम्पसको समयानुकूल विकास र व्यवस्थापनको विषय भने बेवास्तामा छ ।

प्रकाशित मितिः बुधबार, चैत्र १, २०७९     3:39:57 PM  |