मेयरकप अन्तरविद्यालय फुटबलमा होलिल्याण्ड च्याम्पियन



बाँके।

बाँके जिल्लास्तरीय मेयरकप अन्तरविद्यालय छात्र (यु–१८) फुटबल प्रतियोगितामा होलिल्याण्ड हाईस्कुल नेपालगन्ज च्याम्पियन भएको छ । छात्रतर्फ होलिल्याण्डले नेपालगन्ज मोडेल एकेडेमीलाई सडेनडेथमा ५–४ गोलले पराजित गरेको थियो । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो । २४ मिनेटमा अनमोल विकको गोलबाट होलिल्याण्डले अग्रता लिएको थियो । ४७ मिनेटमा सुनिल थारूले गोल गरेर नेपालगन्ज मोडेललाई खेलमा फर्काएका थिए ।

त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा होलिल्याण्डले बाजी मा¥यो । होलिल्याण्डबाट अभिषेक थापा, आशिष कुमाई, मनिष सुनार, डानेल रोकामगर, अनमोल विकले गोल गरेका थिए । हिमाल पुरीको प्रहार नेपालगन्ज मोडेलका गोलकिपर आयुष चन्दले रोकिदिए । नेपालगन्ज मोडेलबाट महेश शाही, आयुष चन्द, राज नेपाली र सुनिल थारूले गोल गरे । पुष्कर मल्ल र निराजन शाहीले गोल गर्न सकेनन् ।

फाइनल खेलको प्लेयर अफ द म्याच होलिल्याण्डका गोलकिपर प्रवीण सुनार भए । उनलाई एन्फा बाँकेका वरिष्ठ उपाध्यक्ष अनिल केसी र पूर्वखेलाडी निजामुद्दिन सिद्धिकीले पुरस्कृत गरे । प्रतियोगिताका छात्रतर्फका सर्वोत्कृत्ट खेलाडी होलिल्याण्डका अभिषेक थापा भए । दुवैले दुई हजार पाँच सय पुरस्कार पाएका थिए । विधागतमा उत्कृष्ट छात्रतर्फ होलिल्याण्डका गोलकिपर प्रवीण सुनार, रक्षकमा नेपालगन्ज मोडेलका सुनिल थारू, मिडफिल्डरमा नेपालगन्ज मोडेलका गणेशसिंह ठकुरी, स्ट्राइकरमा होलिल्याण्डका अनमोल विक र प्रशिक्षकमा होलिल्याण्डका जंगबहादुर थापाले पुरस्कार पाए ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताका विजेताले २१ हजार र उपविजेताले १६ हजार पुरस्कार पाएका थिए । विजेता, उपविजेता, विधागत उत्कृष्टलाई नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला अध्यक्ष भोजराज शाहीलगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा छात्रमा ३७ वटा र छात्रामा ११ वटा विद्यालयले भाग लिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १० गते बुधबार