कथाः जनताको माया



शशिराम कार्की

अक्टुबर क्रान्तिपछि सोभियत सङ्घको राजधानी सेन्टपिटर्सवर्गबाट मास्को स्थानान्तरण गरिएको थियो । रुशी क्यालेन्डर अनुसार सन १९१९ को फेब्रुअरी महिना चलिरहेको थियो । मास्कोका सडकहरूमा बिहान सधैँ बरफको चादरले ढाकेको हुन्थ्यो । प्रत्येक बिहान त्यसलाई सफा गर्नै पर्ने नियमित कार्य थियो । । खेतहरू र चवरमा चार फुट बाख्लो बरफ जमेको थियो । सडक छेउमा भएका कदमका रूखहरूले कपासको खास्टो ओढेको भान हुन्थ्यो । सडकमा हिँड्दा जाडोले मुटु थरथर काँप्थ्यो । सोभियत सरकारका जनकमिसार परिषदका अध्यक्ष का. लेनिन क्रेमलिन दरबारमा रहेको आफ्नो निजी सचिवालयमा केही लेख्दै हुनुहन्थ्यो । एकजना लाल सैनिक आएर सलाम गरे र भने, ‘कमरेड, किसान प्रतिनिधिहरू भेट्न चाहन्छन् ।’ ‘भित्र पठाऊ ।’ उहाँले टाउको उठाएर सुस्तरी भन्नुभयो र फेरि लेख्नमा तल्लीन हुनुभयो । थोरै समयपछि सामान्य रुशी पोशाकमा तीनजना व्यक्तिहरू भित्र प्रवेश गरे । उनीहरू भित्र प्रवेश गर्दासम्म लेनिन लेख्ने कार्यमा व्यस्त हुनुहुन्थ्यो । मानिसहरूको पदचाप सुनेर उहाँ लेख्ने कार्य स्थगित गर्दै जुरुक्क उठ्नुभयो । किसान प्रतिनिधिहरूको सामुन्ने आएर पालैपालो तीनैजनासित हात मिलाउनुभयो र सोफामा बस्ने आग्रह गर्नुभयो । आफू पनि एउटा मेच तानेर उनीहरूको अगाडि बस्नुभयो र सोध्नुभयो, ‘यहाँहरू कहाँबाट आउनुभयो ?’ एकजना अलि पाको उमेरका किसानले भने, ‘प्रिय कामरेड, हामी भोलोस्तको स्थानीय सोभियतको कार्यकारिणी समितिको तर्फबाट आएका हौँ ।’

‘यहाँहरूको नाम ?’ ‘हामी तीनैजना कार्यकारिणी समितिका सदस्यहरू हौं र मेरो नाम इभानोभ हो । यहाँहरू दुई जना रिकोभ र सुरातोभ हुनुहुन्छ ।’ उनले यति भन्दै एउटा चार पृष्ठको प्रतिवेदन का.लेनिनतिर बढाए । का. लेनिनले त्यो कागज पूरै पढ्नुभयो र त्यस पत्रमा रातो कलमले केही लेख्नुभयो अनि त्यसलाई पन्चिङ् गरेर जतनपूर्वक फाइलमा राख्नु भयो । त्यसपछि अघिकै स्थानमा बस्नुभयो र स्थानीय सोभियत, सोभियत सरकार, जनताका समस्याहरूको बारेमा विभिन्न प्रश्नहरू सोध्नुभयो । इभानोभले उहाँले सोधेका कुराहरूको सरल जवाफ दिँदै भने, ‘प्रिय इलिच, हामी सबैलाई ठिक छ । यहाँको लामो आयुको लागि भोलोस्तका किसानहरू सदा प्रार्थना गर्दछौँ । हामीलाई एउटा ट्याक्टर भएमा खेती गर्न सजिलो हुनेछ ।’ कोठा निकै चिसो भएकोले किसान प्रतिनिधिहरूलाई बस्न कठिनाइ भइरहेको थियो । त्यहाँ कोठा तताउने समोवार पनि थिएन । यस्तो चिसो कोठामा लेनिन कसरी बसेर काम गरिरहनुभएको होला भनेर तीनै जना निकै चिन्तित भए । लेनिनले भन्नुभयो, ‘तपाईको कार्यकारिणी समितिको प्रतिवेदन पढेर मैले धेरै कुराहरू बुझ्ने मौका पाएँ । तपाईहरूले सोभियत समाजवादी सरकारलाई बलियो बनाउन महत्त्वपूर्ण काम गर्नुभएको छ । यसरी नै काम गर्नुहोला । म हरदम तपाईहरूको साथमा छु र सोभियत सरकार तपाईहरूको साथमा छ । तपाईहरूको कार्यकारिणी समितिलाई धन्यवाद दिन्छु र चाँडै तपाईहरूको गाउँमा ट्याक्टर पठाइने छ ।’ लेनिनको कुराले किसान प्रतिनिधिहरू अत्यन्त खुसी हुँदै उहाँसित बिदा भएर आफ्नो गाउँ फर्किए । गाउँ फर्किएको भोलिपल्ट इभानोभले भोलोस्तको सोभियत कार्यकारिणी समितिको बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै भने, ‘का. लेनिनले हाम्रो कार्यकारिणी समितिको नीतिलाई समर्थन गर्नुहुन्छ । उहाँले यस समितिलाई आफ्नो शुभकामना र धन्यवाद पठाउनु भएको छ ।’

का. लेनिनले यस समितिलाई मान्यता प्रदान गरी समितिको कार्यलाई समर्थन गर्दै धन्यवाद समेत पडाउनुभएकोले समितिका सम्पूर्ण सदस्यहरू अत्यन्त हर्षित भए । उनीहरूले एकअर्कालाई अङ्कमाल गरे । सबै जना हर्षको वातावरणबाट शान्त भएपछि एकजना सदस्य स्माइलेभले सोधे, ‘तपाईहरू त्यहाँ पुग्दा का. लेनिन के गर्दै हुनुहुन्थ्यो ? तपाईहरूले त्यहाँ अरू के के देख्नुभयो ?’ ‘हामी त्यहाँ पुग्दा उहाँले केही लेखिरहनुभएको थियो ।’ इभानाभले भने, ‘हामीलाई देख्नसाथ उहाले कोही महत्वपूर्ण पाहुना आएझैँ गरेर आफै हाम्रो नजिक आउनुभयो । पालेपालो तीनैजनासित हात मिलाउनु भयो । हामीलाई सोफामा बस्न आग्रह गर्दै आफैले मेच तानेर हाम्रो अगाडि बस्नुभयो । उहाँले अत्यन्त शालीन भाषामा हाम्रो नाम र गाउँबारे जानकारी लिनुभयो । गाउँका समस्याका बारेमा कुरा गर्नुभयो र सोभियत सत्ताका बारेमा गाउँलेहरूको धारणा के छ भनेर सोध्नुभयो । हामीले सोचेका थियौं कि भ्लादिमिर इलिचले असाधारण भाषामा कुनै असाधारण कुरा गर्नुहुनेछ । तर उहाँले त अत्यन्त सरल भाषामा साधारण कुरा गर्नुभयो । उहाँ त हामी जस्तै सरल व्यवहारिक कुरा गर्नुहुन्छ र साधारण जीवन बिताउनु हुन्छ । हामीबारे उहाँलाई पूरै ज्ञान छ । उहाँ हाम्रा कमजोरीहरू र सम्भावनाहरूका बारेमा परिचित हुनुहुन्छ । उहाँले हामीलाई असाध्य सरलतापूर्वक स्नेह प्रकट गर्नुभयो । हामीले पनि उहाँलाई आफ्नै दाजुभाइझैँ ‘इलिच’ भनेर सम्बोधन ग¥यौं र दिल खोलेर कुरा ग¥यौं । हामीले त्यहाँ करिब पाँच मिनेट कुरा गरेका थियौं तर हामीलाई यस्तो भान भयो कि हामी उहाँसित युगौंदेखि परिचित छौं ।’ एकछिन रोकिएर उनले भने, ‘हामीलाई यस कुरामा चिन्ता लाग्यो कि उहाँ अत्यन्त चिसो कोठामा बसेर काम गर्नुहुन्छ ।’ यस पछिल्लो कुराले कार्यकारिणी समितिका सबै सदस्यहरूलाई चिन्तामा पा¥यो । तुरुन्तै त्यस बैठकमा लेनिनको स्वास्थ्यबारे चिन्ता प्रकट गर्दै एउटा प्रस्ताव राखियो । त्यस प्रस्तावमा छलफल हुँदा भोलोस्तको स्थानीय सोभियतको त्यो कार्यकारिणी समितिको बैठकले निर्णय ग¥यो, ‘का. लेनिनको कोठा तताउन कार्यकारिणी समितिको खर्चमा एक बेगन लकडी पठाइने छ र उहाँको कोठामा समोवार जडान गर्नका लागि एक लोहार पनि पठाइने छ ।’

 

  • No tags available
प्रकाशित मिति : २०८३ असार १० गते बुधबार